पाँच दिनभित्र भिजिट भिसा प्रकरणबारे छानबिन संयन्त्र बन्छ : मुख्य सचेतक बर्तौला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुई बुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुई बुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी दिए ।

‘विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ, एक महिना कुर्दैनौँ, आजको मितिले बढीमा पाँच दिनभित्रमा हामी संयन्त्र बनाउँछौँ,’ उनले भने, ‘गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ , त्यस प्रकारको तयारी उच्चस्तरबाट भएको छ ।’

मुख्य सचेतक बर्तौलाले गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको उल्लेख गर्दै रास्वपा र राप्रपाका सांसदहरुको अवरोधप्रति असहमति व्यक्त गरे ।

आजको बैठकमा त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन ढिलाइ गर्न नहुने राय व्यक्त गरेका थिए ।

प्रतिक्रिया