काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले काठमाडौंको माइतीघर मण्डलामा स्थापना दिवससँगै प्रदर्शन गरेर हिँडेरै संसद भवन पुगेका छन् । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।
सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित पार्टीले आजबाट देशव्यापी अभियान सञ्चालन गरेको छ । आज माइतीघर मण्डलामा स्थापना दिवस मनाउँदै प्रदर्शन गरेर रास्वपाका सांसदहरू हिँडेरै संसद भवन पुगेका हुन् ।
अहिले संसद भवनमा प्रतिनिधिसभाको बैठक जारी छ । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक केही बेर अघिबाट सुरु भएको हो । तर, रास्वपाले बैठकमा विरोध गरिरहेको छ ।
भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उनको राजीनामा माग्दै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने भन्दै धेरै दिन अगाडिबाट संसद बैठक अवरोध गर्दै आइरहेको छ ।
प्रतिक्रिया