अवैधधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित ५ जना पक्राउ

सलाही । महोत्तरीको बर्दिवासस्थित स्नेहा होटलवाट ५ जना पक्राउ परेका छन् । होटलमा अवैध धन्दा चलाएको आरोपमा होटल सञ्चालक रामबहादुर तामाङलाई प्रहरीले २ असारमा पक्राउ गरी मुख्य अभियुक्त बनाएको छ । पक्राउ परेका अन्य ४ जनालाई त्यसमा संग्लन भएको आरोपमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लामो समयदेखि बर्दिवासमा रहेका होटलहरूमा त्यस्ता धन्दा चल्ने गरेको गुनासो आउने गरेको थियो । प्रहरीले होटलमा छापा मार्दा पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनु राम्रो रहेको स्थानीयको टिप्पणी छ ।

स्थानीय भन्छन, ‘यो घटना प्रतिनिधि मात्र हो, प्रहरी यसको जडसम्म पुग्न सक्नुपर्छ ।’ तर, पक्राउ परेकाबाट प्रहरी उक्त विकृतिको जडसम्म पुग्न सक्ने अवस्था हुँदाहुँदै मुद्दा चलाउनुले शंकाको दृष्टिले हेरिएको छ ।

प्रहरीले छापा मार्दा युवतीहरू पनि फेला परेको बताइएको छ । ‘युवतीहरू त्यहाँ कसरी पुगे ? होटल सञ्चालकले नै उनीहरूलाई बोलाएर गएका हुन् वा आफैँ गए छानबिन हुनपर्छ’, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले भने, ‘अनाहकमा होटल सञ्चालक पीडित हुन हुँदैन । यसमा प्रहरी प्रष्ट हुन जरुरी छ ।’

स्रोतका अनुसार होटलमा अवैध धन्दा कसरी चल्ने गरेका छन् भन्ने विषयमा पक्राउ परेका युवतीहरूको प्रारम्भिक बयानले पनि प्रष्ट बनाएको छ । पक्राउ परेका २ जना युवतीको बयानको आधारमा प्रहरीले सिन्धुली रोड नजिकै रहेको एक होटल सञ्चालक ममता पासवानको खोजी गरिरहेको छ ।

‘युवतीहरूको माध्यमबाट ममता पासवानजस्ता अन्य होटल सञ्चालकको खोजी गर्ने वातावरण वन्न सक्छ’, स्थानीय युवा निरोज अधिकारीले भने’, मैले फेसबुकमा स्टाटस राखेर नै खबरदारी गरेको थिएँ प्रहरी एउटा खुड्किलामा प्रवेश गरेको छ ।’

इलाका प्रहरी कार्यालय प्रमुख तथा डिएसपी विकास वम समुदायले साथ दिने हो भने, बर्दिवासमा नमुना काम गरेर देखाउने बताउँछन् । ‘जनगुनासो बढेपछि हामीले हाम्रो जिम्मेवारीलाई चुस्त बनाएका छौँ’, प्रमुख वमले भने, ‘परिणाममुखी काम गरेर समाजलाई जागरुक बनाउने अभियानमा नै छाैँ ।’

तामाङ पक्राउ लगतै उनको श्रीमतीले ‘हामीले मात्र हो यस्तो काम गरेको’, भन्दै प्रहरीसँग प्रतिवाद गर्नुले पनि शंकाको दायरा बढाएको छ । होटल सञ्चालकले घुमाउरो ढंगले अवैधधन्दा गरेको स्वीकार गरेता पनि ‘हामीले मात्र हो र’ भन्ने शव्दलाई समातेर प्रहरीले थप अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।

होटलमा आएर बस्नेको तथ्यांकसमेत नदेखिनुले त्यहाँ हुने कार्यमा शंका बढेको प्रहरीको दावी छ । ‘एउटा सञ्चालकले आफ्नो व्यवसायमा वा होटलमा अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले प्रत्येक ग्राहकहरूको रेकर्ड राख्नुपर्छ’, कार्यालय प्रमुख वमले भने, ‘सञ्चालकले रेकर्ड नराख्नुले उक्त होटलमा अवैधानिक र अमर्यादित क्रियाकलाप हुने गरेको नै देखिन्छ ।’

झन्डै ५ वर्ष अगाडि यसैगरी छापा मार्दा बर्दिवासकै देउराली होटलवाट आपत्तिजनक अवस्थामा केही जोडी पक्राउ परेका थिए । बर्दिवासमा छापा मार्दा केही जोडीहरू आपत्तिजनक अवस्थामा फेला परेको रिपोर्ट नै सार्वजनिक भएपछि त्यस मध्येकी एक युवतीले आत्महत्या गरेकी थिइन् ।

अवैध धन्दा चलाउने यहाँका कतिपय होटलले भारतीय नागरिकसँग सम्पर्क गरेर विज्ञापन नै गर्ने गरेको सिन्धुली घर बताउने १ जना बताउँछन् ।

गत २ गते पक्राउ परेका ५ जना मध्ये २ जना भारतको सितामडी मजफपुरका हुन् । युवतीहरू भने नेपाली हुन् । सिरहा र महोत्तरी घर बताउने युवतीहरूले होटल सञ्चालकको सम्पर्कमा नै आउने जाने गरेको बताएका छन् ।

बर्दिवासमा यस्ता कार्य नयाँ भने होइन, गत भदौमा रामगोपालपुर नगरपालिका–१२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युसमेत यस्तै कार्यमा जोडिएको बताइन्छ । अनुसन्धानकै क्रममा रहेको उक्त घटनामा सम्बन्धित सिसिटिभी चेक गर्दा केही युवतीसहित बर्दिवासस्थित गौरीडाँडामा रहेको एक होटलबाट उनी बाहिरिएका थिए ।

यस्तै औरही र बर्दिवास नगरपालिकाको सिमाना नजिकै मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा मृत भेटिएका अध्यक्ष यादवको मृत्यु रहस्यमय भएको दावी गरिँदै आएको छ ।

प्रतिक्रिया