काभ्रे । नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । ढुंगागिट्टी निकाल्न भनेर टिपर र लोडरसहित राति करिब ९ बजेतिर खोलामा गएकाहरु एक्कासी बाढी आएपछि फसेका थिए ।
उनीहरुलाई राति १२ बजे नेपाल प्रहरी र नेपाली सेनाको समेत सहयोगमा सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हाे ।
उद्धार गरिएका व्यक्तिहरुमा तेमाल गाउँपालिका–५ गिम्दीका ४२ वर्षीय सन्जय लामा, तेमाल गाउँपालिका ५ कै ३२ वर्षीय रेबन तामाङ, नमोबुद्ध नगरपालिका–५ डाँडागाउँका १९ वर्षीय मुस्कान तामाङ, ओखलढुंगा घर भई नमोबुद्ध नगरपालिका–५ डाडागाउँ बस्ने २१ वर्षीय सागर राई र डोजर चालक दोलखाको भिमेश्वर नगरपालिका घर भई हाल डाँडागाउँ बस्ने २९ वर्षीय समिर तामाङ छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो । तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए ।
उद्धार टोलीले अप्पर रिभर क्रसिङ्ग विधि र रोप रेस्क्यु विधि प्रयोग गरी उद्धार गरेको प्रसाईंले बताए । उद्धार गरिएका सबै पाँच जना, एउटा लोडर र एउटा टिपर सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया