काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरूले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै उनले प्रतिपक्षी दलहरू विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका हुन् ।
उनले अर्थमन्त्रीले बजेट प्रस्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरूमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरू नाराबाजी गर्दै गर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए ।
उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे । ‘मान्य मन्त्रीज्यूले यति महत्वपूर्ण कुरा सुनाइरहनु भएको छ, प्रतिपक्षमा रहेका दलमध्ये एउटा दल अवरोधको अवस्थामा छ,’ पाण्डेले भने, ‘नाराबाजीमा छ । यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिरहेका छैनौँ । अनि कसरी यो सभा चलाउने हो ?’ उनले थपे, ‘यो सभा चलाउने अहिलेको तरिका भएन सभामुख महोदय । यो स्थगित गरेर, सहमति गरेर, एउटा टुंगो गरेर मात्रै अगाडि बढाइयोस् ।’
प्रतिक्रिया