रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा विरोध जारी राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् ।

आइतबार सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई पार्टीले यसबारे जानकारी गराएका हुन् । जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।

यस्तो पृष्ठभूमिमा सभामुखले संसद् बैठक अघि छलफल गरेका हुन्। भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिसँगै माओवादी केन्द्रले भने सदनमा अवरोध नगर्ने भएको छ। संसद् बैठक ११ बजे बस्दैछ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२ / ०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया