रेभुलेसनरी गार्ड प्रमुख र आणविक वैज्ञानिकले गुमाए ज्यान

इरानी आणविक केन्द्रमा इजरायली आक्रमण

तेहरान । इजरायलले शुक्रबार इरानको आणविक केन्द्रमा गरेको आक्रमणबाट इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीसहित धेरै सैन्य अधिकारी र वैज्ञानिकहरूकोे ज्यान गएको छ । इरानी राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार धेरै जना वरिष्ठ नेतासहित सलामी मारिएका हुन् । साथमा इरानी सेनाका उपप्रमुख मोहम्मद बघेरी पनि मारिएका छन् । आक्रमणमा खतम अल अन्बिया नामक सशस्त्र बलका मेजर जनरल गोलामली रशिद पनि मारिएका छन् ।
सञ्चार माध्यमले दिएको जानकारीअनुसार अटोमेटिक इनर्जी अर्गनाइजेसनका प्रमुख फायोडन अवासीको ज्यान गएको बताएको छ । तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका प्रमुख मोहम्मद मेहदी तेरान्ची पनि मारिएका छन् ।

‘अप्रेसन राइजिङ लायन’ नामको सो आक्रमणमा मारिने सलामी सन् १९८० मा पहिलोपटक इरान–इराक युद्ध हुँदा रेभुलेसनरी गार्डमा आबद्ध भएका थिए । अमेरिका र सहयोगीको कटु आलोचकको रूपमा उनको छवि बनेको थियो । सन् २०२४ मा उनी गार्डका प्रमुख भएका थिए । सलामीले नेतृत्व गरेको रेभुलेसनरी गार्ड सन् १९७९ मा भएको इस्लामिक क्रान्तिको रक्षा गर्नका लागि स्थापना गरिएको हो । सो संगठन इरानको राष्ट्रिय सेनाभन्दा शक्तिशाली र मजबुत मानिन्छ ।

आक्रमणमा इरानका सर्वोच्च नेता सैयद अली खामेनाइका सल्लाहकार अली शम्खानी इजरायली आक्रमणमा गम्भीर घाइते भएको राज्यसञ्चालित नूर समाचार संस्थाले जनाएको छ । शुक्रबार इजरायलले इरानको राजधानी तेहरान र आसपासका क्षेत्र, आणविक केन्द्र रहेको नटान्ज सहर, ताब्रिज सहर, इस्फहान सहर, अरक सहर र केर्मान्शा सहरमा आक्रमण गरेको अल जजिराले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा पूर्वाधारमा क्षति पुगेको देखिन्छ ।
आक्रमणको लगत्तै इरानले पनि आक्रमण गर्न सक्ने भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संकटकालको घोषणा गरेका थिए ।

उनले केही दिनमा आणविक बम बनाउन सक्ने अवस्थामा इरान रहेका कारण त्यसबाट बच्न आक्रमण गरिएको बताए । इरानले भने सर्वसाधारणको आवासमा आक्रमण भएको तथा बालबालिकाको समेत ज्यान गएको बताएको छ । इजरायली सुरक्षा निकायले वरिष्ठ आणविक वैज्ञानिकसमेत मारिएको जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमको मुटुमै प्रहार गरिएको बताए । इरानको राजधानी तेहरानभन्दा २२५ किलोमिटर टाढा रहेको केन्द्रमा आक्रमण भएको हो ।

सन् २०२१ मा इरानले इजरायललाई सोही स्थानमा साइबर आक्रमण गरेको आरोप लगाएको थियो । आक्रमणपछि इजरायली डिफेन्स फोर्सले अहिले आफ्नो देश शक्तिशाली तथा जटिल अवस्थाको सामना गरिरहेको जनाएको छ । इरानी नेताले इजरायलले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिइसकेका छन् । आक्रमणपछि इरानमा इन्टरनेट प्रतिबन्ध लगाइएको छ ।

अमेरिका तटस्थ

अमेरिकाले आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्ना नागरिक जोगाउनु नै पहिलो काम भएको बताएको छ । घटना लगत्तै अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणका लागि आफूहरूसँग कुनै सल्लाह नभएको जानकारी दिए ।

इरानबाट ड्रोन प्रहार

इजरायली आक्रमणको बदलामा इरानले १०० भन्दा धेरै ड्रोन प्रहार गरेको थियो । इजरायली सेनाले इरानले प्रहार गरेका चालकरहित हवाइ उपकरण ड्रोन निस्तेज पारेको जनाएको छ ।

इजरायली रक्षा बलका अनुसार इजरायलबाहिरको आकाशमा ती ड्रोन निस्तेज पार्न थालिएको हो । ‘इजरायली रक्षा बलले इरानबाट प्रहार भएका चालकरहित हवाइ उपकरण इजरायली भूमिबाहिर निस्तेज पार्न थालेको छ ।’ इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ ।


इरानमा गरेको सैन्य कारबाही अस्वभाविक रूपमा धेरै जटिल र नियोजित रहेको इजरायली अधिकारीहरूले दाबी गरेका छन् । समाचार संस्था एपीका अनुसार आक्रमणअघि इजरायलका लागि काम गर्ने जासुसहरूले ड्रोन र हतियार तस्करी गरेर इरान पुर्याएका थिए ।

प्रतिक्रिया