जडीबुटी कम्पनीले थाल्यो उत्पादन (तस्वीरहरू)

काठमाडाैँ । गत चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजाबादीहरूको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो । कयौँ मानिसहरू घाइते भए । सार्वजनिक तथा निजी संरचनाहरू तोडफोड र आगजनी भयो ।

राजावादीहरूको उक्त आन्दोलनमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन । आन्दोलनकारीहरूले कम्पनीको प्रशासनिक भवन तोडफोड गरे भने उत्पादन तथा प्रयोगशाला भवनमा आगो लगाएर पूर्ण रूपमा प्रयोगविहीन बनाइदिए ।

यो कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्दै आएको थियो । खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरूले गर्दथे । उत्पादित बस्तुको बजारीकरण देखिका कामहरू भने केन्द्रीय कार्यलयले गर्थ्यो । जसका कारण सो घटनाको लगभग एक महिनासम्म सबै काम ठप्प भएको कम्पनीकी निमित्त महाप्रबन्धक उषा रिजालले बताइन् । कम्पनी कहिले सञ्चालन होला भन्ने निराशाका बीच घटना भएको एक महिनामा कम्पनीले उत्पादन थालेको उनको भनाइ छ ।

वन तथा वातवरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा सिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताइन् ।

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रूपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नुपरेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन हुने गरेको रिजालले बताइन् ।

प्रतिक्रिया