काठमाडौँ । अमेरिकाको निष्कासनमा परेका ३७ जना नेपाली नागरिक चार्टर्ड विमानमार्फत आइतबार नेपाल आइपुगेका छन् । आइतबार अपरान्ह करिब ५ बजे काठमाडौँ आउने भनिए पनि उक्त चार्टर्ड विमान ढाका हुँदै काठमाडौँ आउँदा रातको करिब ९ बजेको थियो । अध्यागमन स्रोतका अनुसार ३२ पुरुष र ५ महिलालाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन ४८६ एएक्सबाट नेपाल पठाएको हो ।
अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो । उनीहरूलाई भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेको तथा चालचलन राम्रो नभएको आरोपमा नियन्त्रणमा लिएर नेपाल नै डिपोर्ट गरिएको हो ।
उक्त चार्टर्ड विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । उक्त चार्टर विमान भारतीय र बंगलादेशी नागरिकलाई समेत उनीहरूको देशको जिम्मा लगाएर काठमाडौँ आएको थियो । दोस्रो कार्यकालका रुपमा डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेपछि अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको थियो । ट्रम्प राष्ट्रपतिको रुपमा दोहोरिएपछि अहिलेसम्म करिब १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।
प्रतिक्रिया