सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक युवकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार महाभारत गाउँपालिका–४ निवासी २४ वर्षीय साजन वाइबा आइतबार बिहान करिब ९ः३० बजे तेमाल गाउँपालिका–३ चुखावेशीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगेका थिए ।

वाइबा सोही क्षेत्रमा निर्माणाधीन बृहत् खानेपानी आयोजनाअन्तर्गतको ट्यांकी निर्माण कार्यमा कामदारका रूपमा खटिएका थिए। बिहानको समयमा उनी अन्य कामदारहरूसँग नदीमा पौडी खेलिरहेका बेला अचानक बहावमा फसेर करिब ५० मिटर तल बगेएर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मी तथा स्थानीयबासीन्दाको सहकार्यमा खोजी सुरु गरिएको थियो । खोजीको क्रममा उनलाई केही समयपछि नदीको बहावले बगाएर लगेको स्थानभन्दा तल मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक वाइबाको शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया