ओलीको टाउको दुखाइ बन्दै विद्या भण्डारीको सक्रियता

प्रधानमन्त्री छँदै अधिवेशन गरेर अध्यक्ष निर्वाचित हुने दाउ

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रभाव बढ्दै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली चिन्तित देखिएका छन् । पार्टीको आगामी महाधिवेशनबाट पनि अध्यक्ष पद तेहेर्याउन चाहेका ओलीलाई भण्डारीले चुनौती दिएपछि उनलाई चिन्ता थपिएको हो ।

भण्डारीले पार्टीका तल्लो तहसम्मका नेता/कार्यकर्ता भेटेर अघि बढ्न थालेपछि अध्यक्ष ओलीले उनलाई सक्रिय राजनीतिमा नआउन सन्देश दिने गरेका छन् । एमालेको आन्तरिक राजनीतिमा र खास गरी वामपन्थी दलहरू पनि भण्डारीको राजनीतिक पुनरागमनलाई स्वागत गर्न तम्तयार देखिएपछि ओलीमा त्रास बढेको हो ।

छिमेकदेखि ओलीको गृह जिल्लासम्मै विद्याको सक्रियता, ओलीलाई थप चुनौती

पूर्वराष्ट्रपति भण्डारीले आगामी ११औँ महाधिवेशन आउनुअघि नै पार्टीको शीर्ष नेतृत्व आफू रहेको सन्देश दिइरहेकी छिन् । पार्टीले गर्ने विभिन्न कार्यक्रममा आफू प्रमुख अतिथि बन्ने कुरा सामान्य नै भइसक्यो । वैदेशिक भ्रमणमा समेत उनी पार्टीको शीर्ष नेतृत्वकै भूमिकामा प्रस्तुत भइसकेकी छिन् । चिनियाँ कम्युनिस्ट पार्टी र चिन सरकारको निमन्त्रणमा गत १० देखि १९ जेठसम्म चीन भ्रमणका क्रममा उनले उपराष्ट्रपति हान चेङलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गरिन् । पार्टीको विदेश विभाग प्रमुख रघुवीर महासेठलाई लिएर जानुले सो भ्रमणलाई पार्टीले स्वामित्व लिएको बुझिन्छ ।

चीनले नेपालका कम्युनिस्टहरू एकताबद्ध होऊन् भन्ने चहना राखेको कुरा लुकेको छैन । त्यसका लागि लबिइङ पनि गर्दै आएको छ । भण्डारीको पछिल्लो भ्रमणलाई नेपालका कम्युनिस्ट पार्टीहरूलाई उनको नेतृत्वमा एकताबद्ध गराउने प्रयासका रूपमा बुझ्नेहरू पनि छन् । भण्डारीको चीन भ्रमणपछि ओली भण्डारीप्रति झनै सशंकित देखिएका छन् । स्रोतका अनुसार आगामी दिनमा भण्डारीको यस्तै सक्रियता रहिरहे उनलाई ‘सार्वजनिक सन्देश’ सहित रोक्नसम्म उनी तयार देखिएका छन् ।

भण्डारीको पछिल्लो भ्रमण ओलीकै गृह जिल्ला झापामा भयो । शुक्रबार उनले झापामा रहेका नेता÷कार्यकर्तासँग भेटवार्ता गरिन् । प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष जस्ता जिम्मेवार नेताहरू पनि उनलाई भेट्न पुगे । अन्य जिल्लाहरूमा एक तहका नेता कार्यकर्तालाई भेटेर फर्किने भण्डारीले झापामा भने चाहेका जति सबै नेता, कार्यकर्ताहरूलाई भेटेर विशेष सन्देश दिन खोजेको टिप्पणी पनि स्थानीय नेता, कार्यकर्ताहरूले गरेका छन् ।

सौर्य दैनिकसँग कुरा गर्दै एमालेका एक शीर्ष नेताले पार्टीमा ओली–भण्डारी टकरावको अवस्था रहेको बताए । भण्डारीले ११औँ महाधिवेशनको तयारी गरिरहेको र ओली उनलाई रोक्न लागिपरिरहेको उनको भनाइ छ ।

वाम एकताको भयले माधव नेपालमाथि डन्डा, एमाले पंक्ति विभाजित

बृहत् वाम ध्रुवीकरणको बहस नेपाली राजनीतिमा अझै सेलाएको छैन । विगतमा एमाले–माओवादी एकता भएर बनेको नेकपा अहिले ५ टुक्रामा विभाजित हुन पुगेको अवस्था छ । त्यही नेकपा ब्युँत्याएर कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिनुपर्नेमा नेताहरूको जोड छ । यसका निम्ति एमाले अध्यक्ष ओली बाधक रहेको भनेर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भन्दै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सोही कुरा भन्छन् ।

पूर्वराष्ट्रपति भण्डारी निकट स्रोतका अनुसार उनको पहिलो प्राथमिकता विभाजित एमालेलाई एकताबद्ध बनाउनु हो । यसका लागि उनले एकीकृत समाजवादीका नेताहरूसँग विभिन्न चरणमा छलफल गरिरहेकी छिन् । फुटेको एमाले जुटाएर अन्य वामपन्थी दलहरूलाई समेत मिलाउने र एकीकृत कम्युनिस्ट पार्टीको अध्यक्ष बन्ने उनको सपना पूरा हुन नदिन ओली लागिपरेका छन् ।

भण्डारीसँग नजिकिँदै गरेको सम्पर्क, वामपन्थी एकता हुँदा नेपालले स्पेस पाउने भयलगायत कारणले पनि ओलीले नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग गरेर पतञ्जली जग्गा प्रकरणमा मुद्दा हाल्न लगाएको चर्चा स्वयं एमालेभित्रै छ । नेपालमाथि मुद्दा चलाएको विषयलाई लिएर एमाले नेताहरूको मत पनि विभाजित देखिएको छ ।

विगतदेखि नै ओली निकट भनेर चिनिएकाहरू अख्तियारको यो कदमको प्रशंसा गरिरहेका छन् भने पदाधिकारी तहकै कतिपय नेताहरू यसको विपक्षमा उभिएका छन् । तर, मुद्दा दायरको प्रारम्भिक समय भएको भन्दै ती नेताहरू सार्वजनिक रूपमा बोल्न भने हिच्किचाएका छन् ।

एमालेमा आँधीअघिको सन्नाटा !

ओलीकालमा उनीविरुद्ध बोल्दा कारबाहीको भागिदार बनिहाल्नुपर्ने स्थितिका कारण उनले गर्ने सबै प्रकारको तानाशाही र अलोकप्रिय निर्णयहरूको विरोध नेताहरूले गर्न सकिरहेका छैनन् । ओली आफैँ निर्णयकर्ता, आफैँ प्रवक्ता र आफैँ प्रतिरक्षाकर्ता (कार्यकर्ता) भएर मैदानमा उत्रिइरहेका छन् । उनका सबै निर्णयको स्वामित्व आमपार्टी पंक्तिले सार्वजनिक रूपमा नलिनेसम्मको अवस्था बनिसकेको छ ।

‘के एमाले यसैगरी चल्छ ?,’ सौर्य दैनिकको प्रश्नमा एमालेका एक पदाधिकारी भन्छन्, ‘एमाले अहिले आँधीअघिको सन्नाटामा छ । आँधी आउनेछ र एमालेको अहिलेको स्थितिलाई परिवर्तन गर्नेछ ।’

प्रधानमन्त्री छँदै अर्ली महाधिवेशनको दाउमा ओली

ओली तेस्रो कार्यकालका लागि अध्यक्ष दोहोरिन चाहिरहेका छन् । त्यसका लागि उनले आफू प्रधानमन्त्री भएकै बेला अर्ली महाधिवेशन गर्ने दाउ हेरेका हुन् । अर्ली महाधिवेशन भएमा दबाब र प्रभावमा पारेरै भए पनि आफू नेतृत्वमा आउन सक्ने आकलन उनको छ । एमाले विधानअनुसार आगामी २०८३ साल मंसिरसम्म ११औँ महाधिवेशन गरिसक्नुपर्छ । तर, कांग्रेससँग गरेको सम्झौता बमोजिम उनी २०८३ साल असारसम्म प्रधानमन्त्री रहनेछन् । त्यसैले उनले आफ्नो प्रधानमन्त्रीकालमै महाधिवेशन गर्ने भित्री तयारी गरिरहेको बताइएको छ ।

तर, सौर्य दैनिकसँग कुरा गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा अर्ली महाधिवेशनको बारेमा छलफल नभएको बताए । उनले भदौमा विधान महाधिवेशन गर्ने तयारी रहेको जानकारी दिए । विधान बमोजिम ५ वर्षमा महाधिवेशन गरिने बताउँदै उनले भने, ‘यो हल्ला मात्रै हो । महाधिवेशन गर्नलाई प्रधानमन्त्री नै भइरहनुपर्ने हुन्छ र ? नहुँदा पनि महाधिवेशन गर्न सकिन्छ । अर्ली महाधिवेशनको आवश्यकता र सम्भावना म देख्दिनँ ।’

प्रतिक्रिया