काठमाडौं । गत चैत १५ गते राजावादीको आन्दोलनमा तीनकुनेमा भएको हिंसात्मक घटना प्रकरणमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु भएको छ ।
आज बुधबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा थुनछेक बहस सुरु भएको हो । थुनछेक बहस सकिएपछि प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ ।
काठमाडौंको तीनकुनेमा गएको चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा ६५ जनाविरुद्ध मुद्दा चलाइएको छ । तीमध्ये चार बालकलाई काल अदालत भक्तपुरमा र ११ जना मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको कसुरमा धरौटीमा रिहा भइसकेका छन् ।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवमा ५० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये दुर्गा प्रसाईँसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ । उनीहरु मध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक अगाडी बढेको हो ।
जेठ ११ गते अदालतमा अभियोग पत्र दर्ता भएको थियो । त्यसपछि उनीहरुको बकपत्र चलिरहेको थियो । बकपत्र सकिएसँगै जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो ।
सरकारी वकिलले दुई दिन समय लिए अर्को साता मात्रै उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ । यही मुद्दाका प्रतिवादी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् महामन्त्री धवलशमशेर राणालाई भने अनुसन्धानकै क्रममा छाडिएको थियो ।
गत चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने काठमाडौंका विभिन्न स्थानमा आगजनी र तोडफोड हुनुका साथै भाटभटेनी सुपरमार्केटमा समेत लुटपाट भएको थियो ।
प्रतिक्रिया