भारतले घटायो कच्चा खानेतेलको आयात महसुल, नेपालको निर्यातमा धक्का लाग्ने !

काठमाडौँ । भारतले कच्चा खानेतेलको आयातमा भन्सार महसुल घटाएपछि नेपालको निर्यात व्यापारमा धक्का लाग्ने भएको छ । यो नयाँ व्यवस्थाले पछिल्लो समय नेपालको निर्यात व्यापार बढाउन उल्लेख्य योगदान पु¥याउँदै आएको खानेतेलको व्यापारमा धक्का पुग्ने भएको हो । विदेशबाट खानेतेलको कच्चा पदार्थ ल्याउर नेपालमा प्रशोधन गरी भारत निर्यात हुँदै आएको छ । जसको कारण नेपालको निर्यात व्यापार ह्वात्तै बढेको थियो ।

भारतले शुक्रबारदेखि लागू हुने गरी कच्चा खानेतेलको आयातमा महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । भारतले आफ्नो कुल मागको ६० प्रतिशत खानेतेल आयातबाट पूर्ति गर्दै आइरहेको छ । भारतले आफ्ना उद्योगीलाई प्रोत्साहन गर्न महसुलमा छुट दिँदा त्यहाँको आन्तरिक उत्पादन प्रवद्र्धन हुने र नेपालबाट निर्यात हुने वस्तुले प्रतिष्पर्धा गर्न नसक्ने भन्दै नेपाली उद्योगीले चिन्ता व्यक्त गरेका छन् ।

भारत–नेपाल व्यापार सन्धिअनुसार नेपालबाट निर्यात हुने प्रशोधित तेलमाथि भन्सार महसुल लाग्दैन । उद्योगीहरूका अनुसार भारतमा कच्चा तेलको आयात सस्तो भएपछि भारतीय उद्योगहरूले कच्चा तेलमै प्राथमिकता दिने भएकाले नेपालको प्रशोधित तेलको माग घट्न सक्छ ।

भन्सार विभागको तथ्यांकअनुसार १० महिनामा ७८ अर्ब ७५ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । त्यस्तै, १० अर्ब ९ करोडको सूर्यमुखी तेल निर्यात भएको छ । कुल वस्तु निर्यातमा भटमास र सूर्यमुखी तेल निर्यातको हिस्सा ४० दशमलव ७७ प्रतिशत पुगेको छ । नेपालले १० महिनामा ८१ अर्ब ८९ करोडको भटमास र २४ अर्ब ६४ करोडको सूर्यमुखीको कच्चा तेल आयात गरेको छ ।

प्रतिक्रिया