काठमाडौं । नेपाली कांग्रेसले वडादेखि केन्द्रीय कार्यालयसम्म प्लास्टिक रहित बनाउने घोषणा गरेको छ । विश्व वातावरण दिवस जुन ५ (यही जेठ २२ गते) देखि यो घोषणा लागू हुने कांग्रेसले जनाएको छ ।
विश्व वातावरण दिवसको सन्दर्भमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन् ।
सभापति देउवाको घोषणा अनुसार कांग्रेस केन्द्रीय कार्यालय, संघीय र प्रदेशका संसदीय दलको कार्यालयहरु, प्रदेश कार्यालयहरु, जिल्ला कार्यालयहरु, प्रतिनिधिसभा क्षेत्रीय कार्यालयहरु, प्रदेशसभा क्षेत्रीय कार्यालयहरु, पार्टीको स्थानीय तहका कार्यालयहरु, पार्टीका सबै वडा कार्यालयहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यालयहरु र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरुमा प्लास्टिक रहित क्षेत्र बनाउनका लागि वातावरणीय प्रदुषण न्यूनिकरण गर्दै लगिने बताइएको छ ।
सभापति देउवाले घोषणा गर्दै भने, ‘विश्व वातावरण दिवसको सन्दर्भ पारेर यस्तो महत्वपूर्ण संवाद कार्यक्रम आयोजना गर्नुभएकोमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका प्रमुख कल्याणकुमार गुरुङजी र विभागका साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।’
उनले विश्व वातावरण दिवसको यस वर्षको नारा ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ रहेको र पुनः प्रयोग हुन नसक्ने प्लास्टिक, विशेषगरी प्लास्टिकका झोला र बोतलको प्रयोग अन्त्य गर्नु आफ्नो पार्टीको नीति रहेको बताए ।
सभापति देउवाले आफ्नो पार्टीले प्लास्टिकका झोला र बोतलको सट्टा कपडाका झोला र स्थानीय स्तरमा उपलब्ध अन्य वैकल्पिक साधनहरूको प्रयोग गर्दै आइरहेको उल्लेख गर्दै सहजताको नाममा प्लास्टिकको प्रयोगले वातावरणमा पारिरहेको नकारात्मक प्रभावबाट अब माथि उठ्नुपर्ने समय आएको बताए । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास पनि आफूले लिएको बताए ।
प्रतिक्रिया