कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने– खास लडाइँ भोलिबाट सुरु हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने चेतावनी दिएका छन् । आज आइतबार राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि उनले भोलिदेखि खास लडाइँ सुरु हुने चेतावनी दिएका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘कमल थापा लगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु, नेपाल सरकार, गृहमन्त्री प्रहरी प्रमुखलाई भद्रतापूर्वक मेरो आग्रह छ, कमल थापालाई यहीँ ल्याइदिनुस्, होइन भने हामी देशभरीबाट साथीभाइलाई बोलाउछौँ खास लडाइँ भोलिबाट हुन्छ, अब एक ठाउँबाट भेला भएर होइन ५० ठाउँबाट निस्किन्छौँ, अहिले भरखर कमल थापालाई यहीँ नल्याइदिने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ ।’

उनले गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिँदै एक एक गरेर नभई देशभरबाट सिंगै परिवार लिएर सडकमा उत्रिने चेतावनी पनि दिए । जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलनरत छन् । राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो ।

उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए । आज आइतबार नक्सालस्थित नारायण चौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया