युद्ध चर्काएपछि पुटिनसँग रिसाए ट्रम्प, भने– ‘उनी पागल भए’

काठमाडौँ । दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेलगत्तै रुससँग सम्बन्ध सुधार गर्न तथा रुस–युक्रेन युद्ध अन्त्य गराउन लागिपरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय रुसी समकक्षी भ्लादिमिर पुटिनसँग असन्तुष्ट बनेका छन् । उनले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकामा आक्रोश व्यक्त गर्दै पुटिनलाई ‘पागल’को संज्ञा दिएका छन् ।

यस क्रममा उनले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको पनि बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेखेका छन्, ‘रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध छ । तर, उनलाई केही भएको छ । उनी पूर्ण रूपमा पागल भएका छन् । उनी बिनाकारण धेरै मानिसलाई मारिरहेका छन् । म सैनिकहरूको बारेमा मात्र कुरा गरिरहेको छैन । युक्रेनी सहरहरूमा बिनाकारण मिसाइल र ड्रोन प्रहार गरिँदै छ ।’

ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि उत्तिकै रुष्ट छन् । उनले भने, ‘राष्ट्रपति जेलेन्स्कीले बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन् । उनको मुखबाट निस्किने सबै कुराले समस्या सिर्जना गर्छन्, मलाई यो मन पर्दैन । यो बन्द भए राम्रो हुनेछ ।’

यता, रुसले लगातार युक्रेनमा आक्रमण गरेको छ । रुसले युक्रेनी भूमिमा ३६७ वटा चालकरहित ड्रोन आक्रमण गरेको थियो । रुसी आक्रमणमा १२ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । जेलेन्स्कीले भने रुसमाथि थप प्रतिबन्ध लगाउँदै युद्धविरामका लागि बाध्य बनाउनुको कुनै विकल्प नभएको बताएका छन् । शनिबार राति रुसले गरेको हवाई आक्रमण सन् २०२२ को फेब्रुअरीमा आक्रमण सुरु गरेयता एकै दिनमा गरेको सबैभन्दा ठुलो हो ।

यता, युक्रेनी गुप्तचर प्रमुख जनरल ओलेह इभासचेन्कोले रुसलाई चीनले युद्ध सामग्री उपलब्ध गराएको आरोप लगाएका छन् । चीनले रुसको सैन्य कारखानामा रसायन र गन पाउडर पठाएको उनको दाबी छ । उनले २० वटा रुसी कारखानाको डाटा लिएर सो निष्कर्ष निकालिएको बताए ।

प्रतिक्रिया