लुम्बिनी । २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मूल समारोहको पूर्वसन्ध्यामा लुम्बिनीलाई भव्य तयारीका साथ सिंगारिएको छ । बुद्ध जन्मस्थल मायादेवी मन्दिर परिसरलगायत सम्पूर्ण लुम्बिनी क्षेत्र अहिले दीप, फूल तथा विविध सजावटले झलमल बनेको छ ।
झिलिमिली बत्ती तथा फूलमालाले सजाइएका मन्दिर तथा बौद्ध भिक्षुहरूको पवित्र स्तोत्र गुञ्जिएको वातावरणले समग्र लुम्बिनीलाई भक्तिमय बनाएको छ । उत्सवको मुख्य समारोह लुम्बिनी सांस्कृतिक ग्राम क्षेत्रस्थित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा वैशाख २९ गते सोमबार आयोजना गरिँदै छ ।
बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी क्षेत्रलाई आकर्षक र व्यवस्थित बनाउन सरसफाई गरिएको छ । मायादेवी मन्दिरलाई विशेष महत्वका साथ सिंगारिएको छ । नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो उत्सवले लुम्बिनी क्षेत्रलाई बेहुली जस्तै बनाएको छ ।
त्यहाँ विशेष पूजा आजाको तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । विकास कोषका अनुसार बिहान ६ देखी ७ बजेसम्म मायादेवी मन्दिर परिसरभित्र संघ दान र पूजा अराधना हुनेछ ।
विकास कोषले उपलब्ध गराएको समय तालिका अनुसार वैशाख २९ गते बिहान ७ बजे शोभा यात्रा, साढे ८ बजे प्रसाद वितरण तथा झाँकी प्रदर्शन, ९ देखी ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितीमा मूल समारोहको औपचारिक कार्यक्रम र बेलुका ७ बजे दिप प्रज्वलन गरिने छ ।
बुद्ध जयन्ती उत्सव अझ भव्यताका साथ सम्पन्न गर्ने उद्देश्य राखिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शक्यले बताए । लुम्बिनी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्दै बुद्धको शान्ति सन्देशलाई विश्वभर फैलाउने लक्ष्यसहित उत्सवको तयारी गरिएको उनको भनाई छ ।
समारोहले बुद्धका शान्ति, करुणा तथा ज्ञानको सन्देशलाई विश्वभर फैलाउने विश्वास गरिएको कोषका उपाध्यक्ष ल्यार क्याल लामाले बताए । उनले भने, ‘मायादेबी मन्दिरलाइ विशेष महत्वका साथ सिंगारिएको छ ।’
यो वर्ष बुद्ध जयन्तीको लागी १ करोड रुपैया छुट्याइएको उनले बताए । प्रधानमन्त्री ओलीको विशेष उपस्थितीमा वैशाख २९ गते आयोजना हुने मूल समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, धार्मिक गुरु, बौद्ध भिक्षुहरु र विदेशी कुटनितिक नियोगका व्यक्तित्वहरूको उपस्थिती रहने लुम्बिनी विकास कोषले जनाएको छ ।
प्रतिक्रिया