भारतीय सेनाले भन्यो– पाकिस्तानले हाई स्पीडमा मिसाइल आक्रमण गरेको छ

काठमाडौं । पाकिस्तानले हाई स्पीडमा मिसाइल आक्रमण गरेको भारतीय सेनाले बताएकाे छ । भारतीय सेनाकी महिला कर्नेल सोफिया कुरेशीले शनिबार एक पत्रकार सम्मेलनमा शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भारतको बदला लिने कारबाहीको बारेमा जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको छ, नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ, श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो ।’

कर्नेल कुरेशीले भनिन् कि पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीहरूलाई क्षति पुर्याएको छ ।

उनले भनिन् कि बिहान १.४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको थियो । कर्नेल कुरेशीले भने कि भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको छ ।

भारत र पाकिस्तानबीच जारी तनावका बीच, लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिश्री, भारतीय सेनाका कर्णेल सोफिया कुरेशी र भारतीय वायुसेनाका विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानका गतिविधिहरू निरन्तर उत्तेजक छन्, प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ ।’
भारतको यो भनाइमाथि पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया