सिमावर्ती क्षेत्रका पत्रकारहरू : सत्य खोज्दा जोखिममा

लुम्बिनी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पत्रकारिताको अभ्यास चुनौतीपूर्ण बन्दै गएको छ । तस्करी र राजश्व छलिको रिपोर्टिङ गर्दा पत्रकारहरू धम्की, दुर्व्यवहार र हिंसाको निशाना बन्ने गरेका छन् । सुरक्षा अभावले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमा प्रश्न उठाएको छ ।

२०८२ वैशाख ८ गते, मायादेवी ‐६ मकरी चोकमा शंकास्पद तवरले राजश्व छली हुनेगरी सामान ओसार—पसार भइरहेको दृश्य खिच्ने क्रममा एक समूहले प्रहरीकै अगाडी पत्रकार राधेश्याम बिश्वकर्मालाइ अभद्र ब्यवहार गर्दै सञ्चार सामग्री समेतमा क्षति पुर्यायो ।

तस्करीको रिपोर्टङ गर्दा पत्रकार दिपक कलवार इलाका प्रहरी कार्यालय मझगावाको हिरासतमा ६ घण्टासम्म बस्नुपर्यो । २०८१ भदौ १४ गते स्थलगत रिपोर्टङकालागी मर्चवार गएकोबेला ईलाका प्रहरी कार्यालय मझगावाले उनलाई दुर्व्यवहार गर्दै हिरासतमा राखेको थियो ।

मर्चवार सन्देशका कार्यकारी सम्पादक हृदयराम गुप्ताले मर्चवारमा बालुवा तस्करीको दृष्य खिच्दा ज्यानमार्ने धम्की खेप्नुपर्यो । यसअघि सिमानाकामा चामल तस्करीको दृश्य खिच्दा सम्मरीमाई गाउँपालिका– ७ रामनगरस्थित उनको सञ्चार गृहमा ढुंगामुढा प्रहार भयो ।

२०८० चैत ३ गते कोटहीमाई–६ स्थित बोगडी–बैरिहवा नाकाबाट बालुवा तस्करी हुँदै गरेको दृश्य खिच्दै गर्दा त्यहाँ पहिल्यैदेखि रहेका प्रहरीकै अगाडि आफ्नो नाम सोनू यादव बताउनेले आफूलाई फोन गरी ज्यान मार्नेसम्म धम्की दिएको पत्रकार गुप्ताले बताए ।

२०८० साउन १५ गते मर्चवारी गाउँपालिका–१ स्थित सुमेरगढ सिमानाकामा राजश्व छलीगरी ओसारपसार भइ आएको चामल बेवारिसे अवस्थामा राखिएको दृष्य खिच्दा मर्चवार सन्देशको कार्यालयमा ढुंगामुढा प्रहार भएको पत्रकार गुप्ताको गुनासो छ ।

विश्वकर्मा, कलवार र गुप्ता मात्र होइन पत्रकार उर्मिला यादवले गतवर्ष मर्चवारमा तश्करी भइरहेको भिडियो सम्प्रेषणगर्दा सामाजिक सञ्जाल फेसबुकमा एउटा महिला पत्रकारको सम्मानमा आँच पुग्ने शब्द र धम्कीपूर्ण भाषा प्रयोग भएको उनले बताए ।

सेवा निवृत्त प्रहरी नायब उपरिक्षक रामशंकर कोहारले सिमावर्ती क्षेत्रका पत्रकारहरू विभिन्न जोखिममा परिरहेको भन्दै यसले सुरक्षाकर्मी र पत्रकारबीचको सम्बन्ध र विश्वासमा प्रश्न उठेको बताए । उनले भने, ‘जहाँ पत्रकार असुरक्षित हुन्छन्, त्यहाँ सत्य दबिन्छ, अन्याय बढ्छ र लोकतन्त्र कमजोर हुन्छ, पत्रकारहरुको सुरक्षागर्नु समाज र राज्यको दायित्व पनि हो, जसले स्वतन्त्रता, न्याय र समावेशी विकासलाई संरक्षण गर्छ ।’

नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पत्रकारहरू तस्कर र प्रहरी दुवैबाट असुरक्षित रहेको बताए । उनले भने, ‘नेपाल–भारत सिमावर्ती क्षेत्रमा पत्रकारिता गर्नेहरू तस्करको निशानामा देखिएका छन भने प्रहरीले पनि पत्रकारलाइ सूचना संकलनमा सहयोग गरेको देखिदैन ।’

तसर्थ सिमावर्ती पत्रकारहरुको सुरक्षाकालागि प्रभावकारी नीति तथा संरचना निर्माणगर्न सरोकारवालालाई उनको आग्रह छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सिमावर्ती पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्दै स्वतन्त्र, न्यायपूर्ण र निष्पक्ष पत्रकारिताको वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बताए ।

उनले पत्रकारहरुले आफ्नो धर्म नछोडी पत्रकारिता धर्मको निर्वाह गर्ने क्रममा यदि कुनै किसिमको धम्की वा भौतिक क्षति भएमा, दोषी व्यक्ति वा समुहलाई कानुन बमोजिम कारवाही गर्दै सम्बन्धित पत्रकारलाई सुरक्षा प्रदान गर्नु राज्यको कर्तव्य भएको र यस कार्यमा राज्य सक्रिय रहेको स्पष्ट पारे ।

‘नेपाल–भारत सिमावर्ती क्षेत्रमा पत्रकारिताको अभ्यास चुनौतीपूर्ण छ’, लुम्बिनी प्रदेससभा सदस्य वसीउद्दीन खाँले भने, ‘यहाँ सत्य खोज्ने पत्रकारले जोखिमको सामना गर्नुपर्ने दुर्भाग्यपूर्ण स्थिती छ ।’

यसले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताहरूमा गम्भीर असर पार्न सक्ने उनले बताए । उनले भने, ‘स्वचन्त्र, निष्पक्ष र भयरहित पत्रकारिताका लागि राज्य र सञ्चारकर्मीबीच समन्वय आवश्यक छ, जसले पत्रकारहरुको सुरक्षालाई सुनिश्चितपार्दै स्वतन्त्र पत्रकारिताको वातावरण सिर्जना गर्न सकोस् ।’

प्रतिक्रिया