काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतबाट आएको अनधिकृत पत्रका आधारमा प्रहरीले पक्राउ गरी डिल्लीबजार पुर्याएको घटनापछि जनमत पार्टीसँगको एकता तत्कालका लागि टरेको छ ।
डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टी र रेशमको संरक्षकत्वमा रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नाउपाबीच बुधबार एकता घोषणा हुने कार्यक्रम थियो । एकता घोषणाका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा नेता कार्यकर्ताहरू जम्मा भइसकेका थिए । तर, एकाएक नाउपा संरक्षक चौधरीलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि भन्दै सिभिल ड्रेसमा पुगेको प्रहरीले पक्राउ गर्यो र सरासर डिल्लीबजार कारागार पुर्यायो । तत्पश्चात घटनाले नयाँ मोड लियो ।
सर्वोच्चबाट आएको पत्र नै फेक भएको भन्दै साँझ चौधरीलाई रिहा गरियो । पत्र लेख्ने व्यक्ति सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । रेशम प्रकाउ प्रकरणले राज्यको न्यायपालिकादेखि कार्यपालिकाको संयन्त्रसम्म गम्भीर प्रश्न उठेको छ । यो विषयको छिनोफानो हुँदै जाला । तर, तत्कालका लागि जनमत र नाउपाबीच हुने भनिएको एकता भने अन्योल र अनिश्चिततातर्फ धकेलिएको छ ।
दुवै पार्टीमा सन्नाटा, शीर्ष नेताहरू समीक्षा गर्दै
तराई÷मधेस केन्द्रित सबैभन्दा ठुलो दल र संसदीय राजनीतिमा समेत सशक्त पार्टी बन्ने उत्साहका साथ एकता घोषणासभामा पुगेका नेता÷कार्यकर्ता अनिश्चितता बोकेर रित्तो हात फर्किनुपर्यो । सरकारले नै एकता भाँडेको आरोप रेशम पक्राउ हुनासाथ नेता÷कार्यकर्ताले लगाए । तर, साँझसम्म पुग्दा पत्र फेक र पत्र लेख्ने व्यक्ति नै पक्राउ परेपछि नेताहरू रनभुल्लमा परेका छन् । उनीहरू एकता भाँड्ने नियतले ती सबै काम भएको भन्नेमा त पुगेका छन् नै, यसभित्र गम्भीर षड्यन्त्र लुकेको भन्दै षड्यन्त्र पहिचान गर्ने ध्याउन्नमा लागेका छन् ।
यसका लागि पार्टीका शीर्ष नेताहरू समीक्षा गरिरहेका छन् । घटनाबारे नेताहरू ‘कुल माइन्ड’मा विश्लेषण गरिरहेको र एउटा निष्कर्षमा पुग्ने जनमत पार्टीका नेताहरूको भनाइ छ । यता, पार्टी एकताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र केन्द्रीय समितिबाट एकताको निर्णयसमेत भइसकेको अवस्थामा एकता हुन नसक्दा दुवै पार्टीका गतिविधिमा सन्नाटा छाएको छ । रेशम रिहाइ हुने भएपछि जनमतका अध्यक्ष डा. सिके राउत र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लीबजार नै पुगेका थिए । उनीहरूबीच भेटघाट भइसकेको छ । तर, एकताको नयाँ मिति भने तय हुन सकेको छैन ।
सरकारले नै एकता भाँड्न प्रपञ्च गर्यो : जनमत
जनमत पार्टीले सरकारले नै आफूहरूको एकता भाँडेको आरोप लगाएको छ । सरकारले आफूहरूमाथि दमन गर्दै त्रुटिपूर्ण पत्रको बहानामा रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरेर अन्तिम समयमा आएर एकता भाँडेको जनतमको दाबी छ । सौर्य दैनिकसँग कुरा गर्दै जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आफूहरूलाई मिल्न नदिनकै लागि सरकारले षड्यन्त्र गरेको बताए । यसका लागि समीक्षा गर्न केही समय आवश्यक भएको भन्दै एकताको मिति पछि तय गरिने उनले जानकारी दिए ।
उनले एकता नरोकिने स्पष्ट पारे । ‘संरक्षक पक्राउ प्रकरणले हामी मिल्नुको विकल्प नभएको सन्देश दिएको छ । हामी मिलेनौँ भने हाम्रा जोसुकै नेतालाई जतिसुकैखेर पनि पक्राउ गरिन्छ भन्ने चुनौती पनि दिइएको छ । हाम्रो मुद्दा र नेता कार्यकर्ताको संरक्षणका लागि पनि हामी मिल्नैपर्छ,’ उनले भने । उनले पार्टी एकता भाँड्न आफ्नो पार्टीभित्र कसैको संलग्नता नभएको पनि बताए । एकताको पक्षमा पार्टी एकताबद्ध रहेको उनको भनाइ छ ।
अरू नेता पनि पक्राउ पर्ने डर !
बुधबारको घटनापछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका अन्य नेताहरू पनि सरकारबाट असुरक्षित महसुस गरिरहेका छन् । उनीहरू आफूहरूलाई एकता हुन नदिन राज्य सम्पूर्ण रूपले लागेको भन्दै फेरि पनि एकता हुन नदिन सरकारले राज्य संयन्त्रको सम्पूर्ण बल प्रयोग गर्न सक्ने आशंकामा छन् । त्यही डर स्वरुप तत्कालै एकता घोषणा नगर्ने मुडमा नेताहरू पुगेका हुन् । रेशम बुधबार साँझ नै थुनामुक्त भएका हुन् । देशभरका नेता÷कार्यकर्ता पनि एकताका लागि काठमाडौँमै भएकाले बिहीबार एकता घोषणा गर्न कुनै समस्या थिएन । तर, तत्कालै एकता घोषणा गर्न नसक्नुमा नेताहरूमा असुरक्षाको डर भएको बताइएको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै जनमत प्रवक्ता यादवले तत्कालै एकता घोषणा गर्दा बुधबारको घटना पुनः दोहोरिन सक्ने बताए । त्यसैले प्रतिरोधका लागि सम्पूर्ण तयारी पूरा गरेर मात्रै एकता घोषणा गरिने बताए । ‘एकता घोषणासभा गर्दा बुधबारको घटना नदोहोर्याउला भन्न सकिन्न । अरू नेताहरूमाथि पनि दुव्र्यवहार हुन सक्छ,’ उनले भने, ‘त्यसैले सबै तयारी पूरा गरेर, संगठित भएर मात्रै एकता गर्ने मनस्थितिमा छौँ ।’
रेशम त्रासमा, रञ्जिता अस्पताल भर्ना
बुधबारको घटनापछि नाउपाका संरक्षक चौधरी त्रासमा छन् । उनले अझै पनि आफूलाई राज्यले जुनसुकै बेला धरपकड गर्न सक्ने भन्दै सचेतता अपनाएको बुझिएको छ । जनमत पार्टीका नेताहरूका अनुसार खास गरी रेशम स्वयं त्रासमा रहेका कारण पनि तत्काल अर्को कार्यक्रम राख्न नसकिएको हो । यता, अध्यक्ष रञ्जिता श्रेष्ठ भने अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि उनी बिहीबार ग्रान्डी अस्पतालमा भर्ना भएको बुझिएको छ । बुधबार पनि उनी अस्पतालबाटै पार्टी एकता घोषणासभामा आएको जनाइएको छ ।
पार्टी एकताको पछिल्लो अवस्थाको सम्बन्धमा कुरा गर्न सौर्य दैनिकले नाउपाका संरक्षक चौधरी, अध्यक्ष श्रेष्ठ र नेताहरू लालवीर चौधरी, अरुणकुमार चौधरी र गंगाराम चौधरीसँग सम्पर्क हुन सकेन ।
प्रतिक्रिया