काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस सांसद माया राईलाई पाँच दिन थुनामा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडोंले सांसद राईलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत शनिबार बेलुका काठमाडौंको कपनस्थित निवासबाटै पक्राउ परेकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो।
यसअघि आइतबार अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्वसहसचिव हुन्। उनी सहसचिव हुँदा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पूरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछाने भने जिल्ला रुपन्देही कारागारमा थुनामै रहेका छन् ।
प्रतिक्रिया