पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देनसहित नेताहरुलाई रिहाइकाे माग गर्दै नाराबाजी

काठमाडौं । आज आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।

आज आइतबार नयाँ बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टी अध्यक्ष लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए ।

राप्रपा अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

प्रहरीले पक्राउ गरेपछि अध्यक्ष लिङ्दनेसहितका नेताहरु माइतीघर–बिजुलीबजार–बानेश्वर सडकखण्डमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन पाएनन् ।

प्रदर्शनकारीहरु भने माइतीघरतर्फ गइरहेका छन् । उनीहरुले ‘हाम्रा नेता रिहा गर’, ‘हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाएका छन् । राप्रपाले आज गत चैत १५ गते तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा प्रदर्शन आयोजना गरेको थियो ।

प्रतिक्रिया