मृत्यु दण्डको जोखिममा युन

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ । गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि महाभियोग लगाएर राष्ट्रपति पदबाट हटाइएका युनविरुद्ध यही अभियोगमा फौजदारी मुद्दा पनि हाल्न लागिएको हो ।

राष्ट्रपति पदमा रहँदा उनले ३ डिसेम्बरमा देशमा मार्सल ल अर्थात् सैन्य कानुन घोषणा गरेका थिए । तर विपक्षी सांसदले संसद्मा व्यापक विरोध गरेपछि ६ घण्टामै उनी आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए । यसका बाबजुद विनाशकारी प्रयास गरेको भन्दै दक्षिण कोरियाली संसद्ले युनलाई महाभियोग लगाएपछि उनी पदबाट निलम्बन भएका थिए ।

यसपछि त्यहाँको प्रावधानअनुसार महाभियोग संवैधानिक अदालतले अप्रिल ४ मा सदर गरेपछि उनी राष्ट्रपति पदबाट बर्खास्त भएका हुन् । फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो । यसपछि उनी पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए ।

हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उनलाई पक्राउ गरिएको थियो । उनी पदमा रहेकै बेला पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन् ।

दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ । युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी ३ जुनमा राष्ट्रपति चुन्न चुनाव हुँदै छ । त्यतिबेलासम्म दक्षिण कोरियाको शासन कार्यवाहक राष्ट्रपति हान डक–सोले सम्हाल्नेछन् ।

प्रतिक्रिया