म्यानमारमा मर्नेको संख्या ३३०० नाघे

यांगुन । म्यान्मारमा ठूलो भूकम्पबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३०० भन्दा माथि पुगेको छ । २८ मार्चको भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । ३ हजार ३५४ जनाको मृत्यु भएको छ । यस्तै ४ हजार ५०८ जना घाइते भएका छन् । बेपत्ता हुनेको संख्या २२० पुगेको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्यांकले जनाएको छ ।

विपद् भएको १ हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् । संयुक्त राष्ट्रसंकको एक अनुमानअनुसार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले ४ वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

संयुक्त राष्ट्रसंकका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्मारको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ । ‘विनाश आश्चर्यजनक छ’, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन्, ‘विश्व म्यान्मारका जनताको साथमा उभिनु पर्छ ।’

देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु संख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरूलगायत नेताहरूसँग भेट गरेका थिए । जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए । सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उनको सशस्त्र सेनाले म्यान्मारमा शासन गरेको छ । उक्त ‘सैन्य कू’ले बहुपक्षीय द्वन्द्व निम्त्याएको छ र यो अझै समाधान हुन सकेको छैन । भूकम्पपछि जुन्ताले दर्जनौँ आक्रमण गरेको बताइएको छ । यसमा बुधबार अस्थायी युद्धविराम घोषणा भएदेखि कम्तीमा १६ वटा आक्रमण भएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ ।

वर्षौंको लडाइँले म्यान्मारको अर्थव्यवस्था र पूर्वाधार तहसनहस पारेसँगै भूकम्पपछिको राहत प्रदान गर्न अन्तर्राष्ट्रिय प्रयासहरूलाई उल्लेखनीय रूपमा बाधा पु¥याएको छ । चीन, रूस र भारत उद्धार टोलीहरू म्यान्मार पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन मद्दत गर्ने पहिलो देशहरू मध्ये थिए । संयुक्त राज्य अमेरिका परम्परागत रूपमा अन्तर्राष्ट्रिय विपद् राहतको अग्रणी रहेको छ तर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको मानवीय सहायता एजेन्सीलाई विघटन गरेका छन् ।
वासिंगटनले शुक्रबार म्यान्मारलाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको छ ।

प्रतिक्रिया