सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा फेरि बोलायो

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा फेरि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासंघलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन् । वार्ताको समय भने आपसी सल्लाह अनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुको आन्दोलन जारी छ ।

मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरुसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि वार्तामा बोलाएको थियो । तर उक्त छलफल, परामर्श वार्तामा भने शिक्षकहरु नगएपछि सफल हुन सकेको थिएन ।

प्रतिक्रिया