काठमाडौं । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी छ । प्रदर्शनको लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् । गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने भोक लाग्ने त भइ नै हल्छ ।
तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि फोहोर नगरी एउटा झोलामा थुपार्ने गरेका छन् । यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाई सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ ।
आन्दोलनमा आएका शिक्षकलाई मात्र होइन, पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाइ बोटबिरुवा भएको ठाउमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सञ्जालमा देख्न सक्छौँ ।
हजारौँको उपस्थिति हुँदा पनि बोटबिरुवा नमासेर अनि केही फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफ्नो सामाजिक सञ्जालमार्फत शिक्षकहरुलाई धन्यवाद ज्ञापनसमेत गरेका थिए ।
नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी भएको हो । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराएका थिए ।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए ।
प्रतिक्रिया