जाजरकोटमा ३ मिनेटको फरकमा २ पटक भूकम्प

काठमाडौँ । जाजरकोटमा शुक्रबार लगातार भूकम्पका २ वटा धक्का मापन गरिएको छ । जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो धक्का साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र साँझ ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको दोस्रो धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का डोल्पा, रुकुम, चितवन, कैलाली, बाँके, दाङलगायत जिल्लामा पनि महसुस गरिएको थियो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारीका अनुसार भूकम्पपछि कुशे गाउँपालिकामा केही घर भत्किएको र धेरै घर चर्किएको विवरण प्रप्त भए पनि मानवीय क्षतिको विवरण प्रशासन कार्यालयसम्म आइनसकेको बताए । भूकम्पपछि प्रशासन कार्यालयले जाजरकोटका सबै पालिकालाई पत्रमार्फत् क्षतिको विवरण संकलन गर्न र नागरिकलाई सुरक्षित स्थानमा राख्न भनेको छ ।

यसअघि १७ कात्तिक, २०८० मा रातको ११ः४७ बजे जाजरकोटकै रामिडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्कलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने जाजरकोट र रुकुम पश्चिमसहित सल्यानलगायत जिल्लामा ठुलो मात्रामा भौतिक क्षति भएको थियो । जाजरकोट र रुकुम पश्चिममा मात्र ६० हजारभन्दा बढी घर बस्नै नमिल्ने गरी भत्किएका थिए ।

प्रतिक्रिया