शिक्षा ऐन जारी र विगतका सम्झौता कार्यान्वयनको माग गर्दै शिक्षकहरू होमिए आन्दोलनमा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा होमिएका छन् । शिक्षकहरु शुधबार संघीय राजधानी काठमाडौंमा विभिन्न र्यालीसहित आन्दोलनमा उत्रेका हुन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।

महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइन् । नेपाल शिक्षक महासंघले मंगलबार अनिश्चितकालीन सडक आन्दोलनको घोषणा गरेको थियो । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आज बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने घोषणा गरेको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघ माघ २० गतेबाट आन्दोलनमा रहेको जनाउँदै यस पटक पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू गर्ने बताए । पहिलो चरणअन्तर्गतको अन्तिम कार्यक्रमको रूपमा गत फागुन २४ काठमाडौंमा वृहत् सडक आन्दोलन सभा सम्पन्न भएको उनले जानकारी दिए ।

उनले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चलिरहने बताए ।

प्रतिक्रिया