बाँदर आतंक रोक
सौर्य दैनिकको १८ चैतको अंकमा प्रकाशित ‘पहाड रित्तिन नदिन विशेष कार्यक्रमको खाँचो’ भन्ने सम्पादकीय सान्दर्भीक छ । तर मुख्य कारण छुटेको देखिन्छ ।
पहाडी क्षेत्रको भिरालो तथा सिँचाइको सुविधा नभएको ठाउँमा मकैबाहेक अर्को अन्नबालीको गुञ्जायस छैन । तर बाँदरका लागि सबैभन्दा प्रिय भोजन रहेछ मकै । करिब ५०–६० वटा बाँदरको एउटा बथान हुन्छ । पाक्न लागेको मकै बालीमा १ बथान बाँदर करिब आधा घण्टा छिर्न पाए भने एक हेक्टर जति सखाप बनाइदिन्छन् । मल, बिउ, खनजोत, गोडमेल लगायतका काममा किसानको ठुलो श्रम, पसिना र समय लगानी भइसकेको हुन्छ । तर, एक हुल बाँदर पसे भने आधा घण्टामै सम्पूर्ण मकै बाली स्वाहा बनाइदिन्छन् । अनि किसान के आशाले गाउँमा बसुन् ? बरु जहाँबाट अन्न किनेर ल्याउनुपर्ने हो, त्यही ठाउँमा बसाइँ सर्न किसानहरू बाध्य भएका छन् ।
गाउँमा मान्छेहरूको बसोबास जति पातलिँदै गएको छ, आसपासको जंगल पनि त्यति नै बढ्दै गएको छ । जंगलको अनुकूल अवस्थाका कारण बाँदरको संख्या पनि बढ्दै गएको छ । मुख्य खाद्यबाली चामलको आयात वार्षिक ६० अर्ब रुपैयाँको हुँदै गर्दा बरबादै भयो भन्दै हुन्डरी मच्चाइएको छ, तर चामलभन्दा मकैको आयात धेरै हुन थालेको तथ्यांक छ । बाँदर आतंकका कारण पहाडमा मकै खेती हुन छाडेकोले पनि चामलको आयात बढेको हो ।
खेमबहादुर बुढा मगर आलीताल डडेलधुरा
०००
किन चेत्दैनन् प्रधानमन्त्री ओली ?
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा जम्बो टोली लगेको समाचार आएको छ । यो समाचारले उनमा अझै चेत आएको छैन भन्ने संकेत दिन्छ । यदि राजावादी आन्दोलनले थप गति लियो भने यसको मुख्य दोषि ओली नै हुनेछन् ।
राज्यको आम्दानीले कर्मचारीलाई पाल्नसमेत नपुग्ने हाम्रो देशले विदेशी ऋणको साँवा ब्याज मात्रै वार्षिक ४ खर्ब रुपैयाँ तिर्नुपर्छ । यस्तो अवस्थाको देशका प्रधानमन्त्री फजुल खर्चलाई प्रोत्साहन गर्छन् भने सर्वसाधारण जनता के आशाले देशभित्र बस्ने ?
मुकेश खवास, व्यास नगरपालिका तनहुँ ।
प्रतिक्रिया