काठमाडौँ । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरू गरेको छ । एयरलाइन्सले सोमबारदेखि पोखरा–ल्हासा अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो । पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार १०७ जना यात्रु बोकेर ल्हासाबाट आएको हिमालयको जहाज दिउँसो पौने २ बजे पोखरा विमानस्थलमा अवतरण भएको हो ।
यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनीसमेत बनेको छ । यससँगै हिमालय एयरलाइन्सको जहाज अब हरेक सोमबार ल्हासाबाट पोखरा आउनेछ र मंगलबार पोखराबाट ल्हासाका लागि उड्ने तालिका रहेको छ । हाल हिमालय एयरलाइन्ससँगै चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले पनि सातामा एउटा चार्टर्ड उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले भने नियमित उडान थालेको हो । आगामी दिनमा यात्रु संख्या बढेमा यसलाई बिस्तार गरिने एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया