फेरि युएसएआइडी ब्युँताउँदै ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (युएसएआइडी)लाई प्रभावकारी रूपमा ‘पुनर्गठन’ गर्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार विज्ञप्ति जारी गर्दै युएसएआइडी पुनः ब्युँताउने जानकारी दिएका हुन् । ‘आज विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले सन् २०२५ को जुलाई १ सम्ममा विभागलाई युएसएआइडीका केही कार्य पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे कंग्रेसलाई सूचित गरेका छन्,’ रुबियोले विज्ञप्तिमा भनेका छन् ।

यद्यपि, उनले प्रशासनको प्राथमिकतासँग मेल नखाने युएसएआइडीका बाँकी कामहरू भने बन्द गर्ने योजना बनाएको खुलासा गर्दै भनेका छन्, ‘दुर्भाग्यवश युएसएआइडीका कार्यक्रममा लाभ धेरै कम थियो र लागत धेरै उच्च थियो । संस्था धेरै पहिले नै आफ्नो मूल अभियानबाट पछि हटेको थियो ।’

गत जनवरीमा पदभार ग्रहण गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसपछि युएसएआइडीका विभिन्न कार्यक्रमहरू नाटकीय ढंगले कटौती गरिएको थियो ।

यता, सिनेटको विदेश सम्बन्धसम्बन्धी समितिका डेमोक््रयाट सांसद्हरूले युएसएआइडी पुनर्गठन गर्ने कदमको निन्दा गर्दै छुट्टै विज्ञप्ति जारी गरेका छन् । ‘पुनर्गठनले ‘युएसएआइडीका कुनै पनि कार्यक्रमहरू कार्यान्वयन गर्न असम्भव मात्र बनाउनेछैन । तर, विदेश विभागमाथि थोपरिएको बोझले यसको मूल मिसनमा विशेष व्यवधान निम्त्याउनेछ । यो प्रस्ताव गैरकानुनी, खतरनाक र गलत छ,’ विज्ञप्तिमा भनिएको छ । बन्द हुनुअघि युएसएआइडीले वार्षिक करिब ४३ अर्ब अमेरिकी डलर बजेटमार्फत् खर्च गर्ने गरेको थियो, जुन विश्वको मानवीय सहायताको ४० प्रतिशतभन्दा बढी हो ।

प्रतिक्रिया