धुलिखेलमा विश्व युवा महोत्सव २०२५ सुरू

काभ्रे । युवा सशक्तीकरण, जलवायु परिवर्तन, उद्यमशीलता तथा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले ‘विश्व युवा महोत्सव २०२५’ बिहीबार धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय परिसरमा सुरू भएको छ । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा भइरहेको यस ऐतिहासिक महोत्सवमा ५१ देशका १५० भन्दा बढी युवा सहभागी छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दीपक गौतमले भने, ‘नेपालजस्तो युवा जनसंख्या बहुल राष्ट्रमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूबाट युवाहरूको क्षमता अभिवृद्धि मात्र होइन, उनीहरूलाई नीति निर्माणमा समेट्न र नवाचारको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्छ।’

युवाका सवालहरू विश्वमाझ उठाउने मञ्च

महोत्सवमा शिक्षा, स्वास्थ्य, कानुन, जलवायु परिवर्तन, सूचना प्रविधि, मानवअधिकार, महिला सशक्तीकरण, उद्यमशीलता, पर्यटन प्रवद्र्धनलगायत २५ भन्दा बढी विषयमा सत्र सञ्चालन हुनेछन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले युवाहरूको भूमिका र भविष्यका सम्भावनाहरूबारे विचार व्यक्त गर्नेछन् ।

विशेषगरी, जलवायु परिवर्तनका प्रभाव र युवाको दायित्वबारे हुने सत्रलाई व्यापक चासोका साथ हेरिएको छ । दीपक गौतम भन्छन्, ‘जलवायु परिवर्तनको असर अब नेपालमा पनि भयावह रूपमा देखिन थालेको छ । युवा पुस्ताले अब यो विषयलाई आन्दोलनको रूपमा उठाउनु जरुरी छ ।’

सांस्कृतिक पहिचान र खेलकुदलाई प्रवद्र्धन

महोत्सवमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू, लोक नृत्य तथा मौलिक पहिरन प्रदर्शन गरिँदै छ । साथै, युवाहरूबीच अन्तर्राष्ट्रिय स्तरको फुटसल, दौड, बुद्धिचाल तथा अन्य खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको छ ।

‘धुलिखेल घोषणापत्र’ जारी गरिने

महोत्सवको समापन समारोहमा सहभागी युवाहरूले संयुक्त रूपमा ‘धुलिखेल घोषणापत्र’ जारी गर्ने कार्यक्रम रहेको छ । उक्त घोषणापत्रमा जलवायु संकट, शान्ति र समानताका लागि युवाहरूको प्रतिवद्धता, उद्यमशीलता प्रवद्र्धन तथा प्रविधिको उपयोगजस्ता विषयलाई समेट्ने तयारी गरिएको छ ।

युवाका लागि ऐतिहासिक अवसर

यस्ता अन्तर्राष्ट्रिय महोत्सवहरू नेपालको युवाहरूलाई विश्व समुदायसँग जोड्ने उत्कृष्ट अवसर हुन् । दीपक गौतम भन्छन्, “नेपालका युवाहरूमा अद्वितीय प्रतिभा छ, अब तिनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने समय आएको छ ।’

महोत्सव यही १८ चैतसम्म सञ्चालन हुनेछ, जसमा हजारौँ युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकहरूका अनुसार, यस महोत्सवले युवाहरूलाई नयाँ दृष्टिकोण, अवसर तथा अन्तर्राष्ट्रिय सम्पर्क निर्माण गर्ने अवसर प्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

प्रतिक्रिया