विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ, संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।

बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका थिए । विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए ।

बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । ‘हामी चाहन्छौं- सरकारले यो निर्णय (कुलमान घिसिङलाई हटाउने निर्णय) फिर्ता गरोस् । साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’, बस्नेतले भने । प्रधानमन्त्रीले जानकारी नगराएसम्म संसद सूरु हुन नदिने उनको आग्रह छ ।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गर्दै संसदमा विरोध गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया