काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएपछि सत्तारुढ दल नेपाली कांग्रेसकै नेता शेखर कोइरालाले टिप्पणी गरेका छन् । नेता कोइरालाले कुलमान हटाएकामा आपत्ति जनाउँदै यसलाई सरकारको कुशासनको अर्को कडी भएको टिप्पणी गरेका छन् ।
नेता काइरालाले नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै नहुने बताएका छन् । ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले’, उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’
सरकारले घिसिङलाई पदबाट हटाएपछि सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुबाट विरोध भइरहेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नासाथ सोमबार साँझ नै सांसद तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।
प्रतिक्रिया