कांग्रेसमा हिन्दु राष्ट्र र संघीयता खारेजीको मत बलियो हुँदा ओझेलमा ‘गणतन्त्रवादी मोर्चा’

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस असहमत भएपछि गणतन्त्रवादी राजनीतिक दलहरूको मोर्चाबन्दी प्रयास असफल भएको छ । सत्ता साझेदार तथा संसद्को सबैभन्दा ठुलो दल कांग्रेसभित्र सनातन हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा मत बढ्दै गएपछि गणतन्त्रवादी दलहरूसँग मोर्चाबन्दी गरेर अघि बढ्न कांग्रेसले निर्णय गर्न नसकेको हो ।

गत फागुन २५ गते काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा हजारौँ जनता सडकमा उत्रिएपछि राजसंस्था पुनस्र्थापनाको बहस सतहमा आएको छ । लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले राजावादी गतिविधि बढेको भन्दै गणतन्त्रवादीहरूले मोर्चाबन्दी गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । माओवादी केन्द्र, नेकपा एस, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध समाजवादी मोर्चाले पनि गणतन्त्रवादीहरू एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

सो प्रस्तावलाई सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पनि सकारात्मक रूपमा लिएको थियो । तर, पार्टीभित्रको फरक मतलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पेलेर अघि बढ्न नसक्दा गणतन्त्रवादी दलहरूको मोर्चाबन्दी प्रयास असफल भएको हो । कांग्रेस सभापति देउवा सहमत भएको भए गणतन्त्रवादी दलहरू एकठाउँमा भएको सन्देश दिन प्रधानमन्त्री केपी शर्मा ओली पनि तयार थिए । प्रधानमन्त्री ओलीले यस विषयमा साझा धारणा बनाउन ‘विशेष दूत’ का रूपमा एमाले नेता अग्नि खरेललाई खटाएका पनि थिए ।

खरेलले कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए । सभापति देउवा आफूलाई ‘अक्षम’ घोषणा गरेर प्रधानमन्त्रीबाटै बर्खास्त गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहप्रति विगतदेखि नै व्यक्तिगत रूपमा पनि चिढिएका कारण गणतन्त्रवादीहरू मिल्नुपर्ने कुरामा उनी सहमत छन् । तर, पार्टीभित्रको दबाब र अन्तर्राष्ट्रिय परिस्थितिको समेत ठोस विश्लेषण नभइसकेको कुरालाई आधार बनाउँदै उनले मोर्चाबन्दीमा प्रवेश गर्न नचाहेका हुन् ।

सौर्य दैनिकसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गणतन्त्र स्वीकार गर्ने दलहरूबीच मोर्चाबन्दी आवश्यक नभएको बताए । उनले राप्रपाबाहेक संविधान निर्माणमा सहभागी सबै दल संविधानमाथिको आक्रमणको प्रतिरक्षामै रहेको भन्दै फरक मत नभएका कारण मोर्चाबन्दी जरुरी नभएको बताए । ‘संविधान निर्माणमा सहभागी सबै दल प्रतिरक्षामै छन् । त्यसकारण अर्को मोर्चाको आवश्यकता परेन । सत्तापक्ष र प्रतिपक्ष सबै संविधानकै पक्षमा छन्,’ उनले भने ।

उनले गणतन्त्रमाथि देखिँदै गरेको चुनौतीप्रति भने सबै दल सजग हुनुपर्ने बताए । राजावादीहरूको थप सक्रियता हेरेर आवश्यक परेमा बस्न सकिने (मोर्चामा) पनि उनको भनाइ छ । ‘प्रतिपक्ष अथवा सरकारमा बसेकाहरूले विशेष चनाखो हुने कुरा आफ्नो ठाउँमा छ, त्यो गर्नुपर्छ । आवश्यक प¥यो भने बस्लान् पनि । तर, तत्कालै बसिहाल्नुपर्ने देखिँदैन,’ उनले भने ।

कांग्रेसमा बढ्दै छ ‘हिन्दु राष्ट्र’को मत

सत्तारुढ कांग्रेसमा वैदिक सनातन (हिन्दु) राष्ट्र बनाउनुपर्ने पक्षमा मत बढ्दै गइरहेको छ । पछिल्लो समय कांग्रेसका पूर्वपदाधिकारी तथा पदाधिकारी तहकै नेताहरू समेत यसको पक्षमा खुलेर लाग्नुपर्ने बताइरहेका छन् । हिन्दु राष्ट्रको पुनस्र्थापना, संघीयता खारेजीलगायत विषयमा कांग्रेस स्पष्ट २ कित्तामा उभिएको छ । यसर्थ यस विषयलाई लिएर खुला मोर्चामा जानुपर्दा तत्कालीन अवस्थामा कांग्रेसले आफ्नो धारणा नै लिएर जान सक्ने अवस्था छैन ।

नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले ‘संविधान संशोधन ः आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया सातै प्रदेशमा सम्पन्न गरेको थियो । अन्तक्र्रियाको निचोडका रूपमा केन्द्रीय सदस्य तथा विभाग प्रमुख डा. डिला संग्रौलाले गत बुधबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा पनि हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुपर्ने र संघीयता खारेजी गर्नुपर्नेलगायत विषय समेटिएको छ । यसले कांग्रेसभित्र अब यो विषयमा वारपारको बहस सिर्जना हुने देखिएको छ ।

त्यसो त गत २०८० साल फागुन ७–१० गतेसम्म ललितपुरस्थित गोदावरीमा सम्पन्न महासमिति बैठकमा ‘सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान’का नाममा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन नै गरिएको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीले सो विषयको संयोजन गरेका थिए ।

महासमिति बैठकमा सहभागी १ हजार ८१५ जनामध्ये १ हजार १५ जनाले अभियानको पक्षमा हस्ताक्षर गरेका थिए । नेता भण्डारीका अनुसार सो अभियानको पक्षमा पदाधिकारी र पूर्वपदाधिकारीसहित ४४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । सहमहामन्त्री उमाकान्त चौधरी, पूर्वमहामन्त्री डा. शशांक कोइराला, नेताहरू चित्रलेखा यादव, देवेन्द्रराज कँडेल, उमा रेग्मी, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, डिला संग्रौला, सञ्जय गौतमलगायतले समेत हस्ताक्षर गरेका थिए ।

सौर्य दैनिकसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले नेपाली कांग्रेसले कम्युनिस्टहरूसँग मिलेर कुनै पनि मोर्चा गठन गर्नु नहुने धारणा राखे । कम्युनिस्ट पार्टीको भलाइका लागि कांग्रेस कुनै मोर्चामा सहभागी नहुने उनको भनाइ छ । ‘अहिले कांग्रेसले कम्युनिस्टहरूसँग मिलेर कुनै पनि प्रकारको मोर्चा गठन गर्ने कुरा सान्दर्भिक हुँदैन,’ उनले भने, ‘कांग्रेसले कम्युनिस्टहरूसँग मिलेर उनीहरूको माग र भलाइअनुसार मोर्चाबन्दी गर्ने कुरा आवश्यक छैन र उचित पनि होइन ।’

नेता भण्डारीले महासमिति बैठकको बहुमतले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा मत जाहेर गरेकाले पार्टीको मूल नीति नै यही हुनुपर्ने जिकिर गरे । सनातन हिन्दु राष्ट्र स्थापना भएमा विश्वभरका हिन्दुहरूको केन्द्र नेपाल हुने र देशको आर्थिक वृद्धि पनि द्रुत गतिमा हुने उनको भनाइ छ ।

उनले राजाको नाममा जनता सडकमा आइरहेको कुरालाई पनि नजरअन्दाज गर्नुनहुने बताए । उनले कुनै पनि मतलाई बाहिर राखेर देश सञ्चालन हुन नसक्ने भन्दै सबै शक्ति मिलेर देशलाई अगाडि बढाउनुपर्ने बताए । ‘मुलुकमा असन्तुष्टि बढ्न थाल्यो । आर्थिक संकट छ । वैदेशिक सम्बन्धमा समस्या आइरहेको छ,’ उनले भने, ‘यी सबै पक्षलाई हेर्दा सबै शक्ति मिलेर देशलाई अगाडि बढाउनु अहिलेको राष्ट्रिय आवश्यकता हो । कुनै मतलाई बाहिर राखेर मुलुकमा द्वन्द्वको वातावरण बनाउनुहुँदैन ।’

सौर्य दैनिकसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले सनातन धर्म, संस्कृतिको रक्षा गर्नुपर्ने पक्षमा कांग्रेस संविधान निर्माणकै समयमा रहेको स्पष्ट पारे । उनले कांग्रेस धर्म निरपेक्षताको विपक्षमा त्यतिखेरै रहेको उल्लेख गर्दै संविधान जारी गर्ने सहमतिका लागि धर्म निरेक्षता राखिएको उल्लेख गरे । ‘धर्म निरपेक्षता संविधानमा लेख्नु आवश्यक छैन भनेर त हामीले भनेकै हौँ । अलग–अलग मत आएकाले सहमति बन्न नसकेर धर्म निरपेक्ष पनि राखियो,’ उनले थपे, ‘हिन्दु, बौद्ध, किराँतलगायत सनातनदेखि चलिआएका धर्म, संस्कृति र सभ्यताले नेपाललाई विश्व पहिचान दिएको छ भन्ने भावना त पार्टीमा छ नि !’

उनले संविधानमा यो विषय विरोधाभाषपूर्ण रहेको भन्दै संशोधन गर्ने बेलामा छलफल गरिने बताए । तर, अहिले कांग्रेसभित्र यस विषयमा कुनै ठोस धारणा नबनिसकेको उनको भनाइ छ ।

गणतन्त्रवादीहरू एकठाउँ उभिनुपर्छ : एमाले

एमाले सचिव पद्मा अर्यालले गणतन्त्र ल्याउन भूमिका खेलेका शक्तिहरू एकठाउँमा उभिनुपर्ने बताइन् । सौर्य दैनिकसँग कुरा गर्दै उनले गणतन्त्र विरोधीहरूले सक्रियता देखाउँदै गएमा गणतन्त्र पक्षधरहरूको पनि ध्रुवीकरण हुने बताइन् । यस सन्दर्भमा छलफल भइरहेको भए पनि कुनै निर्णय नभइसकेको उनको भनाइ छ । उनले राजावादीहरूको नाममा संविधानविरोधी गतिविधि भइरहेको भन्दै उनीहरूलाई सबक सिकाउँदै राजनीतिक दलहरूले जनतामा पनि जागरण ल्याउनुपर्ने बताइन् ।

राजावादीहरूको सक्रियताले वर्तमान व्यवस्थामाथि भने कुनै खतरा नभएको स्पष्ट पादै उनले भनिन्, ‘यो उनीहरूको संविधानविरोधी अराजक गतिविधि हो । अस्थिरता ल्याउन सकिन्छ कि ! भनेर गरिएको प्रयास हो । व्यवस्थामाथिकै खतराको तहसम्म पुगेको कुरा पनि होइन । व्यवस्था परिवर्तन हुँदैन पनि । तर, गणतन्त्र पक्षधर शक्तिहरू एकठाउँमा उभिनु जरुरी छ ।’

संविधान बनाउने शक्तिले गणतन्त्रको रक्षा गर्नुपर्छ : माओवादी केन्द्र

माओवादी केन्द्रका सचिव हितराज पाण्डेले तत्कालै सबै गणतन्त्रवादी दलहरूको मोर्चा बन्ने अवस्था नरहेको बताए । ‘जुन–जुन शक्ति मिलेर यो संविधान निर्माण ग¥यौँ, ती शक्तिले गणतन्त्रको पक्षमा आवाज उठाउनुपर्छ भनेर हामीले भनेका छौँ,’ उनले सौर्य दैनिकसँग भने, ‘मोर्चा बनाउन त सकिन्छ । तर, अहिले त्यो विषयमा कुरा भएको छैन ।’ उनले सरकारले सुशासन दिन नसकेका कारण जनआक्रोश बढेको बताए । सचिव पाण्डेले गणतन्त्रविरुद्ध गतिविधि हुनुको कारण सरकारको काम कारबाही पनि रहेको उल्लेख गरे ।

प्रतिक्रिया