‘ब्ल्याक डाइमन्ड ब्युटिसियन’को ताज सुष्मालाई

काठमाडौँ । ब्युटिसियनहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमन्ड ब्युटिसियन नेपाल–२०२५’ ताज काठमाडौँ सुकेधाराकी सुष्मा दाहालले जितेकी छन् । ताजसँगै उनले एनएफइए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसर प्राप्त गरेकी छन् । उनले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमन्ड’का तर्फबाट १ लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गरिन् ।

काठमाडौँको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रमकी फस्र्ट रनरअप सुशीला राई बनिन् भने प्रीति खड्का सेकेन्ड रनरअप बन्न सफल भइन् । उनीहरूले ५० हजार र २५ हजारको छात्रवृत्ति प्याकेज प्राप्त गरेका छन् ।

हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको ११औँँ संस्करण हो । दुलहीको भेषमा सजिएका सौन्दर्यकर्मीहरूको आकर्षक नृत्यसँगै सुरु भएको कार्यक्रम क्रमैसँग ब्राइडल तथा परिचयात्मक चरण, फेसन सो तथा पोसाक प्रदर्शनी, प्रश्नोत्तर र लिखित गरी विविध चरणमा सम्पन्न भएको थियो ।

अवार्ड विजेता तथा महिलाहरूमा सक्रिय चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पूर्ण प्रतियोगीले करिब ३ सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, बौद्धिक क्षमता विकास लगायतका विषयमा तालिम लिएका थिए ।

सौन्दर्यकर्मीहरूको पेसागत सौन्दर्य प्रतियोगिता भएकाले कार्यक्रममा विविध पेसागत प्रतियोगिताहरूसमेत गराइएको थियो । जसमा वेस्ट ब्राइडल, सन्जु फागो, वेस्ट मेकअप कल्पना विक, वेस्ट नेलआर्ट सुशीला राई र वेस्ट जुरो गंगा श्रेष्ठले जित्न सफल भए ।

कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए भने निर्णायक मण्डलमा नायक एसराज गराज, कस्मेटोलोजिस्ट डा.रेखा थापा, मिसेस नोबेल नेपाल २०१४ सन्ध्या लामिछाने, एस्थेटिसियन डा.युनिसा शाही तथा तथा सौन्दर्यकर्मी अप्सरा न्यौपाने थिए ।

नेपाली ब्युटिसियनहरूलाई पेसागत विकाससँगै प्रतिभा प्रस्फुटन गराउने एक उचित थलोका रूपमा १ दशकदेखि कार्यक्रम आयोजना गरिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया