बाल मनोविज्ञानमा आधारित नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन

काठमाडौं । बाल मनोविज्ञानमा आधारित विजय मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ आज काठमाडौंमा मञ्चन गरिएको छ । थापाथलीस्थित सेन्ट जेभियर्स कलेजको स्नातक तह चौथो वर्षका विद्यार्थीले मल्लको नाटक मञ्चन गरेका हुन् । नाटकमा ध्रुव नाम गरेको एक विद्यार्थीलाई मुख्य पात्र बनाइएको छ ।

उनी एक बदमास विद्यार्थी हुन्छन् । सानैदेखि बाआमाको माया नपाएका ध्रुवले आफ्ना साथीरुलाई कुट्ने, झगडा गर्ने, बदमासी गर्ने लगायतका काम गर्छन् । विद्यालयमा उनको व्यवहारले सबै आजित भइसकेका हुन्छन् । यसैबीच फ्रायडको मनोविज्ञान पढेका प्रिन्सिपल सुन्दर लालले ध्रुवको व्यवहार अवलोकन गर्छन् । त्यसपछि उनी आमाको मायाबाट यो बालकले सानैदेखि बञ्चित भएको निष्कर्ष निकाल्छन् ।

यसैबीच प्रिन्सिपल सुन्दरले शिक्षिका कमलालाई ‘नक्कली आमा’ बनेर ध्रुवलाई माया र ममता दिन आग्रह गर्छन् । कमलालाई मन नहुँदा नहुँदै पनि उनको आग्रह स्वीकार्छिन् । प्रिन्सिपलले दिएको जिम्मेवारी कमलाले इमानदारपूर्वक निभाउँछिन् । उनले आमाको मातृवात्सल्य दिएर ध्रुवलाई सुधार्ने प्रयास गर्छिन् । नभन्दै उनी यस काममा सफल हुन्छिन् । यस क्रममा उनी साँच्चिकै ध्रुवसँगको वात्सल्यमा पग्लिन्छिन् ।

ध्रुव उनलाई आफ्नै छोराझैँ लाग्न थाल्छ। ध्रुवले एसएलसी दिएर होस्टल र स्कुल छोड्नु पर्दा उनले आफूलाई सम्हाल्न सक्दिनन् । एसएलसीपछि ध्रुवका बुबा आफ्नो सप्रिएको छोरा लिन जिप चढेर आइपुग्छन् र शिक्षकशिक्षिकालाई धन्यवाद दिँदै फर्किन्छन् ।

विजय मल्लले नाटकमा सृजना गरेको बोर्डिङ स्कुललाई शिक्षा बेच्ने नभई ज्ञान प्रदान गर्ने मन्दिरका रूपमा देखाएका छन् । अभिभावकको माया नपाउने बच्चालाई कसरी माया र प्रेमले सही बाटो देखाउन सकिन्छ भनेर विजय मल्लले शैक्षिक संस्था र शिक्षकको आदर्श जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया