प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक बहुमतले पारित

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो । उपसभामुख इन्दिरा रानाले विधेयक बहुमतबाट पारित भएको घोषणा गरेकी हुन् ।

यसअघि विधेयकमाथिका संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिएकामा सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट पारित सो विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ ।

यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने विश्वास व्यक्त गरे ।

उनले संविधानको मर्म र संघीयताको मर्म अनुरुप नै बजेट निर्माण गरिनुपर्ने उल्लेख गर्दै प्रदेश र स्थानीय तहको अधिकारमा संघले प्रवेश गर्नेमा आफूहरु सचेत रहेको बताए ।

अर्थमन्त्री पौडेलले आवश्यकता र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको छनोट गरेर लगानी स्रोतको सुनिश्चित गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया