काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिलाउने प्रयास फेरि एकपटक विफल भएको छ । वर्तमान सरकार गठन भएपछि आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गरेका प्रधानमन्त्री ओलीले चीनबाट फर्किंदै गर्दा आफू चाँडै भारत भ्रमणमा जाने बताएका थिए । तर, भारतबाट निम्तो लिन नसक्दा ओलीको भारत भ्रमण अनिश्चित बनेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी जेठमा हुने सगरमाथा संवादका लागि निम्तो दिने प्रयत्नका साथ करिब १ सातादेखि भारतमै छिन् । तर, मंगलबार भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा राणाका दुवै योजना फेल भए ।
स्रोतका अनुसार परिस्थिति यस्तो बन्यो कि मोदीलाई निम्त्याउनका लागि निमन्त्रणापत्र दिने मेसो नै बन्न सकेन । विशेष गरी परराष्ट्रमन्त्री राणा नेपाल–भारत सम्बन्ध सुधारका लागि निकै सक्रिय देखिइन् । तर, सफलता हात पार्न नसकेको देखिन्छ । गत मंगलबार भारतको नयाँ दिल्लीमा आयोजित ‘रायसिना डायलग’मा भाग लिन पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरे पनि उक्त भेट औपचारिकतामा मात्र सीमित भयो ।
भेटपछि दुवै परराष्ट्रमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् भेटघाटबारे जानकारी गराए । तर, दुवैले मोदी भम्रणको निम्तोबारे कुनै उल्लेख गरेका छैनन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि नेपाल भारतको सम्बन्ध चिसिएको विषय सत्तारुढ दलकै नेताहरूले भन्दै आएका छन् ।
अझ नेपाली पैसामा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयले भारतसँगको नेपालको कूटनीतिक सम्बन्धमा झनै बिगारेको थियो । सरकारको निर्णयपछि भारतीय विदेशमन्त्री एस जयशंकरले सार्वजनिक रूपमै दिएको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धमा तिक्तता बढेको खुलस्त नै पारेको थियो ।
त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन सरकारको विषयमा भारतीय मिडियालाई दिएको अन्तर्वार्ताले त भारतीय पक्षलाई झनै सहयोग पु¥यायो । गत मंसिरमा भारतको असहमतिका बाबजुद नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बिआरआई कोअपरेसन’मा भएको सम्झौताले भारत झनै चिढियो ।
गत फागुन २५ मा राजावादीको शक्ति प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग र त्यसलाई एमालेले भारतको चलखेलका रूपमा अभिव्यक्ति दिएपछि सम्बन्ध झनै बिग्रियो । तर, यसबीचमा भारतसँग सम्बन्ध सुधार गर्नेभन्दा पनि हरेक घटनाले भारतलाई चिढ्याउने काम मात्र भएको देखिन्छ । नेपालका तर्फबाट थुप्रै पटक कूटनीतिक पहल भए पनि भारतले त्यसलाई बेवास्ता गर्दै आएको छ ।
पटक–पटकको प्रयास असफल
राष्ट्रसंघीय महासभाका लागि न्युयोर्क पुगेका ओली र मोदीबीच भेटघाट हुँदा दुवै तर्फबाट भ्रमणको निम्तो आदानप्रदान भएको थियो । तर, त्यो अनौपचारिक भएकाले त्यसलाई औपचारिक बनाउने प्रयत्न भारतको तर्फबाट भएको छैन भने नेपालको प्रयत्नलाई भारतले बेवास्ता गर्दै आएको छ । यसअघि नयाँ दिल्ली र न्युयोर्कमा भएको उच्चस्तरीय भेटका क्रममा पनि मन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने र सम्बन्ध सुधार गराउने प्रयत्न गरेकी थिइन् ।
रायसिना डायलगका लागि भारत जाने तयारी गर्दैगर्दा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताका लागि समय मिलाउने प्रयास गरेकी थिइन् । नेपाली राजदूत डा. शंकर शर्माले भारतका विदेश सचिव विक्रम मिस्रीलाई भेटेर मन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटको समय मिलाइदिन आग्रह गरेका थिए । तर, उनको त्यो प्रयास पनि सफल हुन सकेन ।
यति मात्र होइन, भारतीय राजदूतमार्फत् र भारतीय विदेश सचिव मिस्रीमार्फत् पनि सके मोदीको नेपाल भ्रमण, नत्र ओलीको भारत भ्रमण गराउने प्रस्ताव रायसिना हिलसम्म पुगेको थियो । त्यस्तै, परराष्ट्रमन्त्री राणाले औपचारिक र लिखित रूपमै पनि मोदीलाई निम्तो पठाएकी थिइन् । तर, नेपालको तर्फबाट भएका ती सबै प्रयास असफल हुँदै गएको छ ।
सगरमाथा संवादमार्फत् सम्बन्ध सुधार गर्ने प्रयास
गत आइतबार सगरमाथा संवाद सचिवालयले सगरमाथा संवादको विषयमा पत्रकार सम्मेलन गरेर मोदी नेपाल आउन सक्ने बताएको थियो । त्यसका लागि नेपालस्थित भारतीय राजदूतावास र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत् निमन्त्रणा पठाइने मन्त्रालयले जनाएको छ ।
सगरमाथा संवादअघि नै मोदीको नेपाल भ्रमण नभए वा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन नसके यसै फोरमलाई नेपाल–भारत सम्बन्ध सुधारका लागि प्रयोग गर्ने नेपाल पक्षको अपेक्षा छ । जलवायु परिवर्तनको मुद्दालाई मोदीले पनि आत्मसात् गर्दै आएकाले उनको सहभागिता हुने अपेक्षा गरिए पनि पछिल्लो समय विकसित घटनाक्रमलाई भारतले जसरी हेरिरहेको छ, त्यसका आधारमा यसै ढुक्क हुने अवस्था छैन । यदि मंगलबारको जस्तै अवस्थाले निरन्तरता पाए सगरमाथा संवादमा मोदीको सहभागिता नहुन सक्ने बताइन्छ ।
अन्तिम विकल्प– बिमस्टेक
विशेष गरी भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीपछि ओली र मोदीको सम्बन्ध चिसिएको थियो । त्यसलाई अन्त्य गर्न अहिले सगरमाथा संवादको घोषणासँगै ओली–मोदी सम्बन्धले चर्चा पाउन थालको छ । सगरमाथा संवादमा नेपालले निम्तो दिन लागेका ४०० भन्दा बढी उच्चस्तरीय व्यक्तिमा मोदी पनि छन् । तर, आउने÷नआउने टुंगो छैन ।
आगामी अप्रिल २ देखि ४ सम्म थाइल्यान्डको राजधानी बैंककमा बिमस्टेक शिखर सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी पनि उपस्थित हुनेछन् । सो क्रममा उनीहरूबीच साइडलाइन भेटवार्ता हुने अपेक्षा गरिएको छ ।
तर, त्यसबारे दुवै पक्षबाट अहिले नै कुनै औपचारिक निर्णय भने आइसकेको छैन । भारतभन्दा पनि नेपाली पक्ष साइडलाइनका लागि बढी सक्रिय हुने देखिएको छ । त्यसका लागि नेपाली पक्षले बिमस्टेक सम्मेलनका क्रममा २ देशबीच छलफलका लागि प्रस्ताव पनि राखेको परराष्ट्र स्रोतले जनाएको छ ।
प्रतिक्रिया