आजदेखि एसइई : ५ लाख १४ हजार विद्यार्थीको गुणस्तर मापन हुने

९० दिनभित्रै नतिजा आउने

काठमाडौँ । सरकारले माध्यमिक तह अर्थात् १२ कक्षासम्मलाई विद्यालय तहका रूपमा व्याख्या गरे पनि कक्षा १० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई अहिले पनि फलामे ढोकाका रूपमा हेरिन्छ । एसएलसी हुँदै एसइईको रूपमा प्रणाली बदले पनि विद्यालय तहको शिक्षामा यसको महत्व अहिले पनि उस्तै छ ।

यस वर्षको एसइईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदै छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ ले बढी हो । गत वर्ष ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । एसइईमा बाल सुधार केन्द्र र कारागार गरी ३ वटा विद्यालयबाहिरका केन्द्र निर्धारण गरिएको छ । काठमाडौँ र दैलेखका २ कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस वर्षको एसइईमा कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि ४ जना विद्यार्थी सहभागी हुने भएका छन् । आजदेखि सुरु भएर १९ गते सम्पन्न हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । लेटर ग्रेडिङ प्रणालीमा हुने नतिजामा उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य सरकारको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

नेपालमा २ हजार ७९ परीक्षा केन्द्रसँगै जापानमा पनि एउटा केन्द्र तोकिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी जम्मा ७७ हजार ८१७ जना जनशक्ति प्रत्यक्ष रूपमा खटिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

९० दिनभित्रै नतिजा

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ । परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको बोर्डले जानकारी दिएको हो । यसरी पहिले नै नतिजाको मिति घोषणा गरिएको पहिलो पटक हो । यसअघि नतिजाको विषयमा कुनै पनि निर्णय हुने गरेको थिएन ।

नतिजा प्रकाशन हुने केही दिनअघि मात्र जानकारी गराइन्थ्यो । तर, यस पटक दिन नै तोकेर परीक्षाको नतिजाबारे बोर्डले निर्णय गरेको छ । यस पटक सबैभन्दा बढी काठमाडौँबाट ३९ हजार ६०० जनाले एसइई दिँदै छन् । सबैभन्दा कम मनाङमा ४३ जना छन् ।

सरकारले एसइईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुट्याउने गरेको छ । त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण, जनशक्ति, तयारीलगायतमा खर्च हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया