काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँभन्दा बढी अवैध रकम बरामद गरिएको घटनाको छानविनको लागि विशेष समिति बनाउन माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर माओवादीका सांसद माधव सापकोटाले घटनाको छानविनका गर्न समिति बनाउन माग गरेका हुन् ।
‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस्, यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने ।
सांसद सापकोटाले उपल्लो तहसँगको ‘कनेक्सन’बिना यस्ता घटना हुन नसक्ने बताए । ‘यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन, गम्भीरतापूर्व यी घटनाको छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ,’ उनले भने ।
उनले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत सोमबार (चैत ४) राति ११ बजे काठमाडौंकै झोर क्षेत्रबाट २५ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट सिन्धुपाल्चोकका लामालाई २५ करोड १ लाख ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो । सांसद सापकोटाले उक्त घटनामा संलग्न जोसुकै होस् कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया