काभ्रे क्याम्पसमा अखिल र क्रान्तिकारीलाई हराउँदै नेविसंघ प्यानलसहित विजयी

काभ्रे । काभ्रे बहुमुखी क्याम्पस, बनेपामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानलसहित शानदार जित निकालेको छ । जिल्लामा मंगलबार सम्पन्न निर्वाचनमा यो एक क्याम्पस मात्रै विद्यार्थी संगठनहरुबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका थियो ।

यसमा एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन भए पनि उनीहरुको उम्मेदवार अनेरास्ववियुका मिलन गौतमलाई १५३ मतान्तरले हराउँदै नेविसंघका रोहिन पराजुली सभापतिमा विजयी भएका छन् । पराजुलीले २७२ मत प्राप्त गर्दा गौतमले ११९ मत पाए ।

अन्य पदाधिकारीमा पनि नेविसंघको प्रभावशाली जित

सचिवमा नेविसंघकी तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ, सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर निर्वाचित भएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियुका सन्ध्या गिरी र सुनिता गुँइतसमेत सदस्य पदमा विजयी भए । कूल ५४१ मतदाता रहेको क्याम्पसमा ३९६ मत खसेको थियो ।

जिल्लाका अन्य क्याम्पसमा गठबन्धनको सहमति

जिल्लाका १५ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुबीच सहमतिमा नेतृत्व चयन भएको छ । सहमति अनुसार नेविसंघ र अनेरास्ववियुले ६–६ वटा क्याम्पसमा सभापति पाएका छन् भने अखिल क्रान्तिकारीले ३ क्याम्पसमा सभापति लिएका छन् ।

नेविसंघले इन्द्रेश्वर, प्रकाश, कानपुर, चैतन्य, पार्वती, मंगलजन विजय क्याम्पसमा सभापति जितेको छ । अनेरास्ववियुले तेजगंगा, जनक, सर्वमंगला, डेडिथुम्का, धुलिखेल र कुशादेवीमा सभापति लिएको छ। अखिल क्रान्तिकारीले प्रभा, श्रीकृष्ण दाप्चा र धुलिखेल क्याम्पसमा सभापति पाएको छ ।

अन्य पदहरुमा सहमति

एकीकृत समाजवादी निकट अनेरास्ववियुले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष, र सर्वमंगलामा उपसभापति जितेको छ । नेत्रविक्रम चन्दनिकट अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा दुई सदस्य, र धुलिखेलमा एक सदस्य जितेको छ ।

नेविसंघको विजयी उत्सव

नेविसंघको ऐतिहासिक जितपछि विद्यार्थीहरूले क्याम्पस परिसरमा मध्ये रातमा नै विजयी उत्सव मनाएका छन् । सभापति रोहिन पराजुलीले क्याम्पस सुधार, विद्यार्थी अधिकार र शैक्षिक स्तरवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुख्य प्रतिस्पर्धी अनेरास्ववियु का मिलन गौतमले विद्यार्थीको हक हितको लागि आफूहरुको अभियान चुनावी हार जीत जे भए पनि निरन्तर रहने बताएका छन् । उनले विजयी टिमलाई बधाई दिँदै आफूहरुलाई विश्वास गरी मत दिएकालाई धन्यवाद ज्ञापनसमेत गरेका छन् । जिल्लामा १६ क्याम्पसमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया