युक्रेनमा रहेका युद्धबन्दी र विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणाले हमासले बन्दी बनाएका विपिन जोशी र युक्रेनमा युद्धबन्दीका रूपमा रहेका ७ जना नेपालीलाई छुटाउन पहल गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले अमेरिकाको दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायकसमेत रहेका वरिष्ठ निर्देशक गिलसँग भारतको नयाँ दिल्लीमा मंगलबार भएको भेटवार्तामा उनले सो आग्रह गरेकी हुन् ।

अध्ययनका लागि इजरायल गएका विपिन ७ अक्टोबर, २०२३ का दिन हमासले किबुजबाट अपहरण गरेको हो । भारतको विदेश मन्त्रालयद्वारा आयोजित रायसिना डायलगमा सहभागी गिलमार्फत् अमेरिकी सरकारसँग आग्रह गरिएको राणाको सचिवालयले जनाएको छ ।

यसैगरी, उनले सोही कार्यक्रममा उपस्थित युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहासँग भएको भेटवार्तामा युद्धबन्दीका रूपमा युक्रेनमा रहेका नेपालीको रिहाइका लागि पनि पहल गर्न अनुरोध गरेकी छिन् । नेपाली नागरिक रुसी सेनामा भर्ना हुन पाउने नेपालको नीति नरहेको स्पष्ट पार्दै युद्धबन्दीका रूपमा युक्रेनमा रहेका ७ जना नेपालीलाई यथाशक्य छिटो मुक्त गरिदिन अनुरोध गरिन् ।

उनले मानव तस्करको फन्दामा परी नेपालको दुर्गम क्षेत्रबाट जबरजस्ती रुसी सेनामा भर्ना भई कार्यरत रहेकै अवस्थामा ७ नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेकाले रिहाइ गर्न आग्रह गरिन् । सो अवसरमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटका क्रममा मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यलगायतमा उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह पनि गरिन् । सो अवसरमा नेपाल र युक्रेनका सरकारी एवं कूटनीतिक राहदानी वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया