त्रिचन्द्र क्याम्पस र स्ववियु निर्वाचन

नेपालका महान साहित्यकार बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ता व्याक्तित्वहरूले पढाएको त्रिचन्द्र कलेजमा दशरथ चन्ददेखि गंगालाल श्रेष्ठजस्ता सहिद पनि हुर्किए । हरेक राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिकामै देखिएको थियो, त्रिचन्द्र कलेज । तर अहिले साख गिर्दै गएको छ ।

अग्निता घिमिरे

‘शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने थलो होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो ।’ –बिपी कोइराला

शैक्षिक संस्थामा राजनीतिका नाममा हुने गरेको विकृतिलाई लक्षित गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भनेका कुरा आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छन् । कोइरालाले भने जस्तै शैक्षिक संस्था भनेका विचार र सिद्धान्तको बारेमा बहस र छलफल गर्ने ठाउँ हो, बाहुबलको प्रयोग गर्ने थलो होइन । यसो भनेर उहाँले शैक्षिक संस्थामा पढाइको महत्व कति हुन्छ ? कलेजमा शैक्षिक वातावरण बनाउन विद्यार्थीको भूमिका कस्तो हुन्छ ? भन्ने कुरा दर्शाउन खोज्नु भएको हो ।

नेपालको उच्च शिक्षाको इतिहास त्रि–चन्द्र कलेज बाटै सुरु भएको हो । यति मात्रै होइन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्रि–चन्द्र कलेजमा उच्च शिक्षा हासिल गर्दै गर्दा राजनीतिमा समाहित भई यो उचाई प्राप्त गर्नु भएको हो । कयौं प्रधानमन्त्री , मन्त्री तथा विज्ञहरु जन्माएको नेपालको शैक्षिक धरोहर त्रिचन्द्र कलेजका विद्यार्थीका रुपमा हामी गौरवान्वित छौं ।

तत्कालीन समयमा उज्यालोको पर्याय थियो, त्रिचन्द्र कलेज । नेपालका महान साहित्यकार बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ता व्याक्तित्वहरूले पढाएको त्रिचन्द्र कलेजमा दशरथ चन्ददेखि गंगालाल श्रेष्ठजस्ता सहिद पनि हुर्किए । हरेक राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिकामै देखिएको थियो, त्रिचन्द्र कलेज । तर अहिले साख गिर्दै गएको छ ।

कुन मुलुकको सभ्यता कति पुरानो हो ? भन्ने कुरा प्रमाणित गर्ने भनेको ऐतिहासिक धरोहरहरूले हो । आधुनिक शिक्षाको इतिहासका हिसाबले नेपालका धरोहर भनेका त्रि–चन्द्र क्याम्पस हो । नेपालमा त्रि–चन्द्र क्याम्पसले उच्च शिक्षाको इतिहास आरम्भ गरेको हो । तर, त्रिचन्द्र कलेजको वर्तमान हालत देख्दा जो कोहीको पनि मन खिन्न हुन्छ । राणाशासनको अन्धाकरयुगमा त्रि–चन्द्र कलेज स्थापना भएको हो ।

औंशीको घोर अन्धकारमा ज्वाजल्यमान मसालका रूपमा त्रि–चन्द्र कलेजको स्थापना भयो । विद्यार्थीहरूको सबैभन्दा पहिलो रोजाइमा त्रि–चन्द्र क्याम्पस पर्ने गरी यो इतिहासको धरोहरलाई संवर्धन गर्नुपर्ने थियो । नेपाल आउने विदेशी पर्यटक तथा काठमाडौं आउने आन्तरिक पर्यटकहरू एकपटक त्रि–चन्द्र क्याम्पस पुग्नै पर्ने गरी प्रवर्धन गर्नुपर्ने थियो, तर चन्द्रशमशेरले जस्तो बनाएर छाडेका थिए, त्यसलाई थप प्रवर्धन गर्न त परै जाओस् संरक्षण पनि गर्न नसक्नु भनेको वर्तमान पुस्ताको कमजोरी हो ।

यतिबेला देशभरका कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन गइरहेको छ । स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको आधारस्तम्भ हो । विद्यार्थी, प्रशासन र अन्य सरोकारवाला पक्षबिच समन्वय गर्ने पुल हो । यो विधार्थी ले चुनेका प्रतिनिधिले विधार्थी को समस्याको पहिचान गर्ने, उठान गर्ने र समाधानका लागि अगुवाइ गर्ने विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको साझा संस्था हो । यसले विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियामा समावेश गर्छ, आफैले आफ्नो लागि नेतृत्व गर्ने पात्र मताधिकार प्रयोग गरेर छान्छन, जसबाट विश्वविद्यालय र क्याम्पस तहबाटै लोतान्त्रिक अभ्यास गर्न विद्यार्थी अभ्यस्त हुन्छन् ।

कतिपयले स्ववियुलाई केवल राजनीतिक संगठनका रूपमा मात्र बुझ्ने गरेका छन् । यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने विद्यार्थी संगठनको पहिलो काम विद्यार्थीको वर्गीय हक र हित नै हो । विद्यार्थीको वर्गीय हित भनेको उनीहरूले निर्बाध पढ्न पाउनु हो । अर्थात् पढ्नका लागि वातावरण बनाउने हो । त्यस कारण स्ववियुको ध्यान विद्यार्थीको पढाइमा केन्द्रित हुनै पर्छ, राजनीतिमा होइन । पढाइको पहिलो कामसँगै राजनीतिमा रुचि भएका विद्यार्थीले अरू कुरा पनि गर्दै जान सक्छन् ।

जब देशमा अधिनायकवादी शक्तिले टाउको उठाउँछ, त्यतिबेला स्वतन्त्रता, मानव अधिकार, राजनीतिक अधिकार जस्ता संविधान प्रदत्त मौलिक केही पनि बाँकी रहँदैन । यो भनेको सार्वभौम जनताको हक र अधिकारमाथिको ठाडो प्रहार हो । त्यस्तोबेलामा स्ववियुको भूमिका विद्यार्थीको वर्गीय हक र हितमा मात्र सीमित रहँदैन, रहनु हुँदैन । किनभने जनताको अधिकारमाथि खतरा आएका बेला स्ववियु त्यसप्रति बेवास्ता गरेर बस्न सक्दैन, बस्न मिल्दैन पनि । त्यस्तो बेलामा नागरिक अधिकार पुनस्र्थापनाका लागि विद्यार्थीले आफ्नो मोर्चा समाल्नै पर्छ । त्यो भनेको आन्दोलन नै हो ।

यद्यपि विद्यार्थीका लागि यो दोस्रो प्राथमिकता भए तापनि संकटका बेला त्यसलाई पहिलो प्राथमिकता दिएर आफ्नो भूमिका प्रस्ट पार्नु पर्छ । हुन त कतिपयले यसलाई विद्यार्थीको पढ्न पाउने अधिकारमाथि राजनीतिक हस्तक्षेप भयो भनेर बेलाबेलामा गुनासो पनि गर्ने गरेका छन् । यस्तो गुनासोका बाबजुद विद्यार्थीका लागि दोस्रो प्राथमिकता यति धेरै महत्वपूर्ण छ कि पढाइमा क्षति हुन्छ भने पनि उनीहरू सिंगो मुलुकको बृहत्तर हितका पक्षमा उभिनै पर्छ । त्यस कारण यसलाई राजनीतिक हस्तक्षेप भयो भन्ने रूपमा कसैले पनि हेर्नु हुँदैन ।

महिला को नेतृत्व गर्ने ठाउँमा प्रतिनिधि

हामीले अहिले देशमा धेरैजसो नेतृत्व गर्ने भुमिकामा पुरुषहरु नै देखेका हुन्छौ । त्यसकै प्रतिबिम्ब विधार्थी राजनितिमा पनि देखिन्छ । विद्यार्थी राजनीति को बारेमा ठिक सङ नबुझाइएर भ्रम छरिएको कारणले यसको विकृतिसँग डराएर पनि यो बाट पर रहेको हुन पर्छ । कलेजमा हुन सक्ने दुव्र्यवहार, स्यानिटरी प्याड, महिला शौचालय आदि जस्ता अन्य विषय हरु हुन्छन जुन कुरा उनले आफ्नो महिला प्रतिनिधि सङ प्रस्ट सङ भन्न सहज हुन सक्छन् ।

नेपालको शिक्षा प्रणाली अहिलेसम्म पनि परीक्षामा धेरै अंक ल्याउने, किताबी रट र टुक्रा ज्ञान केन्द्रित रहेको सर्वविदित नै छ । विद्यार्थीहरूको वास्तविक जीवनमा पर्ने समस्या समाधान गर्ने क्षमता, बजारको मागअनुसारको सीप हाम्रो शिक्षा प्रणालीले दिन नसकेकाले विदेश पलायन र बेरोजगारी बढ्दै गएको छ । एक्काइसौँ शताब्दीको गतिशील, अप्रत्यासित र प्रविधि प्रधान संसारमा विद्यार्थीहरूलाई जीवन र कार्यक्षेत्रका लागि तयार पार्न हामीले थुप्रै परिवर्तनहरू गर्न अत्यावश्यक छ ।

प्रविधि र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को यस युगमा वैश्विक प्रतिस्पर्धामा टिक्न र सामाजिक आर्थिक समस्याहरू को समाधान गर्न विद्यार्थीहरूमा ४ कौशल आवश्यक छ ।

१. आलोचनात्मक चेत ।

२. संचार ।

३. सहयोग ।

४. सृजनशीलता ।

यसले रटेर, घोकेर पास हुने “किताबी कीरा“ को सट्टा समस्यामूलक चिन्तन, सहयोगी मनोवृत्ति, र नवीनताको खोजी गर्ने युवा पुस्ता तयार गर्न मद्दत गर्छ । यी कौशलले विद्यार्थीहरुलाई रचनात्मक भूमिका निर्वाह गर्न मद्धत पुर्याउँछ ।

पछिल्लो समय क्याम्पसमा स्ववियुले आफ्नो रचनात्मक भूमिका निर्वाह गर्न नसक्दा विद्यार्थीका शैक्षिक मुद्दा ओझेलमा परेका छन् । भविष्यका नेता भनेकै आजका विद्यार्थी हुन् । त्यस अर्थमा स्ववियु भनेको विद्यार्थीको पढाइका साथै नेतृत्व क्षमता विकास गर्ने एउटा गतिलो पाठशाला पनि हो । आजको दिनमा हरेक दलका उपल्लो तहमा पुगेका नेताको राजनीतिक पृष्ठभूमि विद्यार्थी आन्दोलनसँगै जोडिएको पाइन्छ । कतिपय नेता क्याम्पसमा स्ववियुको नेतृत्व गरेर आज त्यो ठाउँमा पुग्न सफल भएका हुन् ।

यो स्ववियु निर्वाचनले भविष्यको राजनीतिको एउटा चित्र कोर्ने छ । त्यस कारण निर्वाचनलाई मर्यादित बनाउने र भोलिको राजनीतिलाई आशावादी बनाउने दायित्व अहिले निर्वाचनको मैदानमा उत्रिएका विद्यार्थीकै हो । हुन त निर्वाचन सफल बनाएर मात्र स्ववियुको औचित्य पुष्टि हुन सक्दैन । स्ववियु निर्वाचनको औचित्यता त्यतिबेला पुष्टि हुन्छ, जतिबेला विद्यार्थी हकहितका लागि उसले जिम्मेवारीका साथ काम गर्न सक्छन् ।

(अग्निता घिमिरे त्रिचन्द्र कलेजको वातावरण विज्ञान संकाय स्नातक चौथो बर्षकी विद्यार्थी हुन् ।)

प्रतिक्रिया