पाँचौ एपिक नेपाल म्युजिक अवार्डबाट विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । एपिक नेपाल म्युजिक अवार्ड २०८१ को पाँचौ संस्करण मध्यपुर थिमी भक्तपुरस्थित दुई पोखरी परिसरमा आइतबार सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा अतिथिहरुलाई स्वागत स्वरुप विभिन्न झाँकी र बाजागाजासहित शंखधर चोक देखि कार्यक्रम स्थलसम्म पैदल लगिएको आयोजकले जनाएका छन् ।

प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यता, आयोजक संस्थाका अध्यक्ष एमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरुमा सांसद महेश बस्नेत, थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शीव श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्की लगायतका व्यक्तित्वहरु रहेका थिए ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न अवार्डमा लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरि ३२ विधामा अवार्ड प्रदान गरिएको थियो भने लाईफटाइम एचिपमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगदसहित प्रदान गरिएको आयोजक एमन श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी पत्रकारद्वय ऋषि धमला र ऋषि थपलियालाई नगद राशीसहित सम्मान गरिएको छ । कार्यक्रममा आख्यानकार एवं गीतकार भीष्मराज फुलारा, अभिनेता भुवन केसी र पल शाह लगायतका श्रष्टा, सर्जकलाई सम्मान गरिएको कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी दिए । निर्णायकमा रस्मि पाण्डे, दिल बहादुर ओखेडा, सुभ्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट रहेका थिए ।

प्रतिक्रिया