प्रचण्डले भने– फोटो जलाउँदैमा पक्राउ गर्नु उचित हुँदैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउँदैमा पक्राउ गर्नु उचित नहुने बताएका छन् ।

शनिबार हेटौँडाको एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र (राप्रपा) एक युवा नेताले अध्यक्ष प्रचण्डकै फोटो जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

यही विषयमा प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न रुप हुने भएकाले फोटो जलउँदैमा पक्राउ गर्नु उचित नहुने धारणा व्यक्त गरेका हुन् । अध्यक्ष प्रचण्डले आइतबार सामाजिक सञ्जालमा लेखेर उक्त धारणा व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्, फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

शनिबार हेटौँडामा अध्यक्ष प्रचण्डको फोटो जलाएका राप्रपा निकट युवा संगठनका नेता निराजन बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । राप्रपाका नेता बमलाई चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले चितवनबाट पक्राउ गरेको बताइएको छ ।

शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको फोटो जलाइएको थियो । पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता भएको बताइएको छ ।

जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव रहेका उनले बोल्दाबोल्दै लाइटर पारेका प्रचण्डको फोटो जलाएका थिए ।

प्रतिक्रिया