काठमाडौं । देशका आधाभन्दा बढी जनसंख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ–दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ ।
अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको छ । २०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन् ।
भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ । करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत र एलपी ग्यासको प्रयोग हुने गरेको छ। ८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईवस्तुका गोबरको गुँइठा आदि प्रयोग हुने गरेको छ ।
भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ । हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ । यस्तो अवस्थामा हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसंख्या ऊर्जाका लागि वनजंगलमा आश्रित भएको देखिन्छ ।
आईडिए नामको संस्थाले गरेको एक सर्वेक्षण अनुसार सन् २०२२ मा ग्रामीण क्षेत्रमा करिब ८० प्रतिशत र सहरी क्षेत्रमा ४४.६ प्रतिशत घरमा खाना पकाउन परम्परागत ऊर्जाको स्रोत दाउरा प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
खाना पकाउन आधुनिक ऊर्जाको स्रोत एलपी ग्यासको प्रयोग सहरी क्षेत्रमा ८९ प्रतिशत घरमा र ग्रामीण क्षेत्रका ५७.३ प्रतिशत घरमा खाना प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रका १७.४ प्रतिशत घरमा खाना पकाउन कृषिजन्य अवशेष र गुँइठा प्रयोग हुने गरेको छ । सहरी क्षेत्रमा समेत यसको प्रयोग गर्ने घरको संख्या ५.४ प्रतिशत छ ।
खाना पकाउन ग्रामीण क्षेत्रमा ७.३ प्रतिशत घरमा र १४ प्रतिशत घरमा बिजुली प्रयोग हुने गरेको छ । अझै पनि घरायसी ऊर्जाको मूल स्रोत दाउरा हो । घरायसी ऊर्जाको ८४.९ प्रतिशत हिस्सा दाउराबाट प्राप्त भएको थियो । भौगोलिक क्षेत्रका हिसाबले हिमाली क्षेत्रमा खाना पकाउन ९६ प्रतिशत घरमा, पहाडी क्षेत्रमा ६५.५ र तराई क्षेत्रमा ७९ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग हुने गरेको छ ।
प्रतिक्रिया