रुससँगको युद्ध रोक्न अमेरिका र युक्रेन तयार, रुसको कोर्टमा बल

ह्वाइट हाउसमा चिसिएको सम्बन्ध जेद्दाहमा सुधार

काठमाडौँ । विगत ३ वर्षदेखि जारी रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न संयुक्त राज्य अमेरिकाले राखेको ३० दिने अल्पकालिक युद्धविरामको प्रस्तावमा युक्रेन सहमत भएको छ । यससँगै युद्धविराम हुने÷नहुने विषय रुसको निर्णयमा भर पर्नेछ ।
जारी युद्ध समाधानका लागि गत मंगलबार साउदी अरेबियाको जेद्दाहमा अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । २ साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच खनिज सम्झौताका लागि भएको वार्ता चर्काचर्कीमा टुंगिएसँगै युक्रेनको भविष्यलाई लिएर प्रश्न उब्जिएको थियो ।

२८ फेब्रुअरीमा भएको सो घटनापछि अमेरिका र युक्रेनबीच तत्काल संवादको सम्भावना कम देखिएको थियो । दुई देशका राष्ट्रपतिबीचको वार्तामा तनाव उत्पन्न भएको १ साता पनि नबित्दै लन्डनमा युरोपेली राष्ट्रहरूको सम्मेलनमा त्यहाँका राष्ट्र तथा सरकार प्रमुखहरूले युक्रेनप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए । तथापि त्यस भेलामा पनि शान्ति अभियानमा अमेरिकाको साथको आवश्यकता औँल्याइएको थियो ।

यसबीचमा अमेरिकाले पनि युक्रेनसँग निरन्तर सम्पर्क जारी राखेको थियो । लगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् ओभल अफिसमा भएको चर्काचर्कीको घटनाप्रति दुःख व्यक्त गर्दै खनिज सम्झौताका लागि तयार भएको उल्लेख गरेका थिए । त्यसपछि दुई देशबीच वार्ताको वातावरण बनेको हो ।
युरोपेली सम्मेलनलगत्तै अमेरिकाले वार्ताका लागि प्रयास गरेको थियो । अमेरिकाले यसअघि नै युक्रनलाई सैन्य सहयोग स्थगित गर्ने तथा गुप्तचर सहकार्य रोक्ने निर्णय गरेको थियो । पछिल्लो वार्ताको २ दिनअघि मात्र रुसले युक्रेनको दोनेस्कमा ठुलो हमला गरेको थियो ।

मंगलबार जेद्दाहमा भएको वार्तापछि युक्रेन रुससँग जारी जल, जमिन र हवाई युद्ध रोक्न तयार भएको हो । युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख आन्द्रे यारमाकले अमेरिकाले फेरि सैन्य सहयोग निरन्तरता दिने सहमति भएको बताए ।

अमेरिका र युक्रेनको सहमतिपछि अमेरिकी विदेशमन्त्री मार्क रुबियोले अब बल रुसको कोर्टमा पुगेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउसमा आमन्त्रण गर्न तयार रहेको समेत बताए । राष्ट्रपति जेलेन्स्की समावेश नभएको सो वार्तामा उनको प्रतिनिधित्व यारमाकले गरेका थिए ।

सो वार्तापछि जेलेन्स्कीले पोस्ट गरेको भिडियोमा ३ विषय प्रमुख छन् । आकाश, जल र जमिनमा शान्ति, बन्दीको रिहाइ तथा अपहरण गरिएका युक्रेनका बालकको रिहाइ पहिलो चरणमा युक्रेनले राखेको सर्त हो । पहिलो चरणमा ३० दिनको युद्धविराम भएमा अर्को चरणका लागि समेत युक्रेन तयार भएको उनले बताएका छन् ।

यसअघिको वार्तामा मूल विषय बनेको खनिज सम्झौताको विषय भने मंगलबार सहमतिको एजेन्डा बनेन । तथापि दुवै देश खनिज सम्झौता पुनः टुंगो लाग्नेमा विश्वस्त छन् ।

रुसले अमेरिकाको प्रस्ताव कुर्ने

रुसी सरकारका प्रवक्ता डिमित्री पेस्कोभले अमेरिकी विदेशमन्त्री रुबियोले आफूहरूलाई प्रस्ताव गर्ने कुरा बताइसकेकाले प्रस्तावको पूरै विवरण हेरेर मात्र प्रतिक्रिया दिने बताए । उनले जेद्दाहमा भएको वार्तापछि २ पक्षले जारी गरेको विज्ञप्ति अक्षरशः सावधानीपूर्वक अध्ययन गरेर सरकारले धारणा बनाउने बताए । साथै पेस्कोभले आफूहरूलाई अमेरिकाबाट प्रस्ताव नआई आफू अघि नबढ्नेसमेत बताए ।

रुसका विदेशमन्त्री सर्जी लाबारोभले भने सीमामा शान्ति सेना तैनाथ गर्ने कुरा आफ्नो देशलाई अमान्य भएको बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसल्लाहकार सर्जी मार्कोभले भने जो बाइडेनसँग भन्दा ट्रम्पसँगको सम्बन्ध फरक रहेको बताए । उनले बाइडेनसँगको सम्बन्ध शत्रुतापूर्ण तथा ट्रम्पसँगको सम्बन्ध प्रतिस्पर्धीका रूपमा रहेको बताए ।

युरोपेली देशबाट स्वागत

यो युद्धविराम प्रस्तावको निर्णयलाई युरोपेली देशहरूले स्वागत गरेका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले युद्ध अन्त्यको बाटोमा गएपछि रुस पनि यस विषयमा सतर्क हुनुपर्ने बताए । स्पेनी प्रधानमन्त्री पेड्रो साँचजेले पनि सो सहमतिको स्वागत गरे । लात्भियाका राष्ट्रपति एडगर्स रिन्केभिसले पनि युद्धविरामका लागि युक्रेन सहमत भएकामा खुसी व्यक्त गरे ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले फ्रान्स पहिलेदेखि नै युद्धविरामको पक्षमा रहेकाले यसलाई सकारात्मक रूपमा लिएको बताए । युरोपेली काउन्सिलका प्रमुख एन्टेनियो कोस्टाले युद्धविराम प्रस्तावलाई सकारात्मक विकासका रूपमा लिएको बताए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले वार्तामा सहभागी सबैै पक्षले स्थायी युद्धविरामको बाटो खोज्नुपर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया