गणतन्त्रवादीहरूले गम्भीर समीक्षा गर्ने समय

पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुनुका पछाडि धेरै कारण छन् । तर, स्वयं उनी हौसिएको कुरा लुकाउन मिल्दैन । केही अराजक, बैंकका पैसा खाएका र केही अतिवादीहरूको काँधमा उभिएर राजसंस्था पुनःस्थापना गर्छु भन्ने सोच्नु, सडकमा केही हुल मान्छे उतार्नु ज्ञानेन्द्रका निम्ति गम्भीर घातक हुनसक्छ ।

धनराज वास्तविक

यतिबेला नेपालको राजनीतिमा विभिन्न खालका स्वरहरू सुनिन थालेका छन् । कताकता देश पुनःअस्थिरतातर्फ त जान थालेको होइन ? भन्ने सबाल उठिरहेको छ । चौक, चिया पसल र राजनीतिक बहसमा राजतन्त्र पुनवर्हालीका बारेमा गफ सुनिन थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले सडक रोज्न खोजिरहेको देखिन्छ । उनका गतिविधि देखेर गणतन्त्रवादीहरूले प्रतिकार गर्ने भनेर भन्दैछन् । के साच्चै ज्ञानेन्द्र शाहले सत्ताको निम्ति सडक रोजेकै हुन् त ? उनी स्वयं आफ्ने विवेकमा चल्दैछन् या भारतीय डिजाइनमा यस्ता कदम चाल्ने तयारी गर्दैछन् ? यस्ता केही महत्वपूर्ण सवालहरूमाथि आजका दिनमा मन्थन गर्न आवश्यक छ । यस लेखमा यस्तै सवालमाथि विवेचना गरिने छ ।

हौसिएका पूर्वराजा

ऐतिहासिक भौतिकवादी ब्याख्या र समाजको विकासक्रमलाई हेर्दा समाजको गति पछाडि फर्केको देखिँदैन । इतिहासको पाङ्ग्रा पछाडि होइन, अगाडि बढ्छ भन्ने कुरा समाज विकासक्रमको लामो अनुभवले स्पष्ट देखाउँछ । तथ्य र प्रमाणका आधारमा सत्यको वकालत गर्नेहरूले इतिहासलाई आफूअनुकूल ब्याख्या गर्दैनन् । जो भ्रमित सोच, भुत्ते विचार र विवेकहीन बन्धनको दास बन्न चाहान्छन् त्यस्ता केही व्यक्तिहरूले मात्रै इतिहासको अभौतिकवादी ब्याख्या गरेर राजनीतिको रोटी सेक्ने प्रयास पक्कै गर्न सक्छन् ।

जस्तो घाम उदाएको र अस्ताएको आँखाले देख्ने सत्य हो । तर, तथ्य र प्रमाणका आधारमा सत्य त्यो होइन । सूर्य स्थिर छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा अँध्यारो र उज्यालो हुने कुरालाई सूर्य उदाउने र अस्ताउने भनेर बुझ्ने आमबुझाइ छ । यो आंशिक सत्य हो । पूर्ण सत्य होइन ।

यता पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुनुका पछाडि धेरै कारण छन् । तर, स्वयं उनी हौसिएको कुरा लुकाउन मिल्दैन । केही अराजक, बैंकका पैसा खाएका र केही अतिवादीहरूको काँधमा उभिएर राजसंस्था पुनःस्थापना गर्छु भन्ने सोच्नु, सडकमा केही हुल मान्छे उतार्नु ज्ञानेन्द्रका निम्ति गम्भीर घातक हुनसक्छ । माथि भनिएझै पूर्ण सत्य हुनका निम्ति तथ्य र प्रमाणको आधार नै मुख्य कुरा हो । जो कुरा ज्ञानेन्द्रले बुझ्नुपर्छ ।

राजावादीहरूले भारतीय हिन्दूवादी नेता योगी आदित्यनाथको र ज्ञानेन्द्र शाहको तस्बिरसँगै बोकेको देखिएको छ । यो गम्भीर सन्देश हो । हाम्रो छिमेकी राष्ट्र भारत विश्वकै ठूलो र विशाल लोकतन्त्र भएको देश हो । भारत यति हल्का रूपमा नेपाली लोकतन्त्रका विरुद्धमा उभिन्छ भन्ने लाग्दैन । साथै ज्ञानेन्द्र शाह भारतीय आदित्यनाथको इसारामा हैसिने स्तरमै पुगिसकेका हुन् भन्ने पनि लाग्दैन ।

गणतन्त्र कमजोर बनेको छैन

मुलुकले निक्कै आरोह पारगर्दै हजारौँ मानिसहरूको सहादतको आलोकमा उभिएको गणतन्त्रका विरुद्ध आज अनेकन आवाज उठिरहेको सत्य हो । तर, आज गणतन्त्र कमजोर नभएर कम्युनिस्ट पार्टी र कांग्रेसका मुख्य नेताहरूको कमजोरी, समस्या, आफन्तवाद, गुटवाद, स्वार्थ, पदलोभ आदिका कारण यस्ता सवाल उठेका हुन् । यसरी सडकमा देखिएका दृश्यहरूलाई सांकेतिक सन्देशका रूपमा ग्रहण गरेर आफू सच्चिने, जनताको निम्ति काम गर्ने, जनमुखी, सुशासन, भ्रष्टाचारको न्यूनीकरण, अराजकताको अन्त्य गर्नेमा ध्यान केन्द्रित गर्ने हो भने अहिले उठेका आवाजहरू साम्य हुनेमा दुई मत छैन ।

गणतन्त्रमा जनताको आवश्यकता, समस्या र दुःखका बारेमा चिन्ता गर्ने नेता चाहिन्छ । अहिलेको आवश्यकता नश्लवादी, शाहवंशीय राजा होइन, असल नेताको खाँचो हो । जसको जन्म पनि यसै गणतन्त्रमा हुन्छ । प्रत्येक ५ वर्षमा सम्पन्न हुने आमनिर्वाचनमा जनताले चाहेको खण्डमा जुनसुकै व्यवस्थाको पक्षमा फैसला गर्ने पाउने अधिकार स्मरण गराउनु पर्दैन होला । यता संविधानको कार्यान्वयनमा केही समीक्षा गर्नुपर्ने जरूरी छ । संविधानको सफल र असल कार्यान्वयन गर्नु गणतन्त्रवादी शक्तिहरूको मूल कर्तव्य हो । साथै प्रतिगामी, यथास्थितिवादी, पुनरत्थानवादी शक्ति र विदेशीहरूको चलखेलमाथि अग्रगामी भन्नेहरूले ठोस विश्लेषण गर्नुपर्छ ।

संविधानले निःशुल्क स्वास्थ्य र शिक्षा भनेको छ, तर, सरकारमा रहेका नेताहरूले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्ने काम गरिहेका छन् । यस्ता तमाम समस्या छन्, तीनको समाधानका निम्ति इमानदार प्रयास आवश्यक हुन्छ । संविधानको व्यावहारिक कार्यान्वयनमा धेरै त्रुटी छन् । संविधानको कार्यान्वयन भएको भए आज प्रतिगामी, यथास्थितिवादी र विदेशी शक्तिहरूले चलखेल गर्ने थिएनन् ।

अर्को कुरा गणतन्त्र त्यति कमजोर छैन । हौसिएका ज्ञानेन्द्रले वर्तमान व्यवस्थालाई तहसनहस पारेर सत्तासीन हुने सपनासम्म नदेखे पनि हुन्छ । गणतन्त्रको जग निक्कै बलियो छ । केही अतिवादी गतिविधिबाट गणतन्त्रका नेताहरूले डराउनुपर्ने, आक्रमक रूपमा प्रस्तुत हुनुपर्ने कुनै कारण छैन । मुख्यतया सुशासन र डेलीभरीको पक्षमा वर्तमान सरकारले काम गर्न सकेको छैन । मुलुक, जनता र वर्तमान समस्याहरूका बारेमा गणतन्त्रवादीहरू गम्भीर नबन्दा राजावादीहरू हौसिन पुगेका हुन् । अब पनि आत्मसमिक्षा नगर्ने, गल्तीहरू नसच्याउने, गल्ती दोहोर्याउँदै जाने, सुशासन र सार्वजनिक सेवालाई प्रभावकारी नबनाउने र न्यायपूर्ण काम नगर्ने हो भने गणतन्त्रवादी नेताहरूले ठूलो मूूल्य चुकाउनपर्ने हुनसक्छ । त्यसतर्फ ध्यान दिएर ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अबको बाटो र विकल्पको रूपरेखा तय गर्नुपर्छ ।

संविधानसभाबाट जारी भएको संविधान मासेर कुनै अर्को शासन व्यवस्थाको वकालत गर्नु अवैज्ञानिक, अव्यावहारिक र अलोकतान्त्रिक क्रियाकलाप हो । गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो । व्यवस्था फेरिए पनि अवस्था फेरिएन भनेर गलत भाष्य खडा गरेर गणतन्त्रमाथि हमला गर्ने काम भइरहेका छन् । यो साँचो होइन । तथ्य, तथ्यांक र प्रमाणलाई हेर्दा हिजोको भन्दा आजका जनताको अवस्थामा धेरै परिवर्तन भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, बाटो, अस्पताल, क्याम्पसहरूको स्थापना, साक्षरता दर पहिलोको भन्दा निक्कै फरक छ । अनि यस्ता तत्थ्य र प्रमाणहरूलाई नजरअन्दाज गर्दै समाजले प्रतिगामीहरूले उठाएको हौआको पछि लाग्न आवश्यक छैन ।

गणतन्त्रवादीहरूले गम्भीर समीक्षा गरेर विकास, समृद्धि र सुशासनको पक्षमा र भ्रष्टाचार, दुराचार, अन्याय, अत्याचार, शोषण, दमन, विभेदको विरूद्धमा जवाफदेही, जिम्मेवार ढंगले काम गर्नुपर्छ । जो कामहरू गर्न नसकेकै कारण यसभन्दा पहिले जनताको असुन्तुष्टिका रूपमा बालेन, हर्क, गोपी हमालजस्ता पात्रहरूको जन्मभएको हामीले देखेकै छौँ र भोगेकै छौँ । गणतन्त्रवादीहरूले सत्ताको निम्ति जायज, नाजायज, गठबन्धन गर्ने, राज्य सत्ता र पार्टी सत्तामा पुगेपछि कसैलाई नटेर्ने, दम्भ घमण्ड पाल्ने काम भएका छन् । मूलतः राज्य सत्ता र पार्टीको सत्तामा पुग्न जुन प्रकारका अलोकतान्त्रिक हर्कत भइरहेका छन्, त्यस्ता हर्कत बन्द गरिनुपर्छ । नेताहरूले आफ्ना नालायकीहरू बन्द गर्नुपर्छ ।

एउटा सत्य के हो भने गणतन्त्रवादीहरू विभाजित हुने क्रम जारी रहेको छ । अर्कातर्फ राजावादीहरू शक्तिहरू ध्रवीकृत हुँदै गइरहेको महसुस भएको छ । यसले गणतन्त्रलाई त खासै फरक पार्दैन । तथापि मुलुकलाई अस्थिरतातर्फ धकेल्ने, विकास र समृद्धिको यात्रालाई बाधा पुर्याउने र अन्ततः समाजवाको दिशातर्फ लम्किरहेको देशलाई रोक्ने खालका प्रयास हुन सक्छन् । यसतर्फ ध्यान दिन जरूरी भने पक्कै छ ।

प्रतिक्रिया