जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन उद्घाटन

रौतहट । रौतहट सदरमुकाम गौरमा जिल्ला प्रहरी कार्यालयको अत्याधुनिक एवं प्रविधि मैत्री नवनिर्मित भवन उद्घाटन भएको छ । सो प्रहरीको भवन प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले समुद्घाटन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहट गौरको परिसरमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नवनिर्मित पक्कि भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटनमा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास र भौतिक पूर्वाधारको क्षेत्रमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीको क्षमता एवं दक्षतालाई अभिवृद्धि गरिने बताउँदै वैज्ञानिक र प्राविधिक उपकरण प्राप्त गराई संगठनलाई बलियो बनाउनमा प्रहरी प्रधान कार्यालयबाट यथोचित रुपमा कार्यहरु भइरहेको बताए ।

संगठनको स्थापनाकालदेखि अपराध अनुसन्धान, शान्ति सुरक्षाको व्यवस्थापन, मानवअधिकारको रक्षा, विपद् व्यवस्थापनसहितका विभिन्न कार्यमा अग्रपंक्तिमा रहेर आमनागरिकलाई नेपाल प्रहरीले आफ्नो क्षमताले भ्याएसम्मको सेवा–सुविधा प्रदान गर्दै आइरहेको चर्चा गर्दै उनले आउने समयमा पनि नेपाल प्रहरी आम नेपाली नागरिकहरुको इच्छा अनुसार खरो उत्रिने हरसम्भव प्रयासरत रहने बताए ।

महानिरीक्षक कुँवरले समय–समय हुने गरेका धार्मिक, सांस्कृतिक एवं सामाजिक मतभिन्नता, जघन्य प्रवृत्तिको घटना, माहिला बालबालिका विरुद्धको कसुर, सवारी दुर्घटना, लागुऔषध अपराध, सीमा क्षेत्रबाट हुने चुवाहटलगायतका चुनौतीपूर्ण अवस्थालाई यहाँका प्रहरीले हरसम्भव प्रयास गरेर समाधान गर्नमा स्थानीयको महत्वपूर्ण योग्यदान रहेकोमा धन्यवाद दिए ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य अशोक जयसवाल, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्य, नेपाली सेनाको २८ नम्वर बाहिनीका प्रमुख रंजित थापा, जिल्ला न्यायाधिश मनोज केसी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रसहित विशेष समारोहमा उपस्थित सम्पूर्णलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले स्वागत एवं अभिनन्दन गरेका थिए ।

सो कार्यक्रममा भवन निर्माणदेखि लिएर विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मानित गर्नुका साथै मधेस प्रदेशको रौतहटमा प्रहरी महानिरीक्षक आएकोमा डिआजी आचार्यले आईजी कुँवरलाई मिथिला पेन्टिङ भएको मायाको चिनो प्रदान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दिलिप घिमिरेले जानकारी दिए ।

दुई चरणमा निर्माण भएका जिल्ला प्रहरी कार्यालय रौतहटको अत्याधुनिक भवन निर्माण गर्नमा पहिलो चरणमा तुल्सिभक्त कन्ष्ट्रक्सन बालकुमारी ललितपुर र दोश्रो चरणका प्रदेज सुरेन्द्र जेभी बालकोट भक्तपुरले १७ करोड ६४ लाख २७ हजार ६२८ रुपैयामा निर्माण कार्य सम्पन्न गरेको प्राविधिक इन्जिनियर एसपी इश्वर थापाले जानकारी दिए ।

प्रतिक्रिया